काठमाण्डौ । हाथ्वे फाइनान्स कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० लाख ९४ हजार खूद नाफा आर्जन गरेकोमा त्यो घटेर यो वर्ष ३७ लाख ७६ हजारमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष २ करोड ४७ लाख संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ४१ लाख ५४ हजार संचालन नाफा आर्जन गरेको छ । 

व्यवसाय बिस्तारमा ध्यान नदिएका कारण कम्पनीको खूद ब्याज आम्दानीमा पनि ठूलै पहिरो गएको छ । अघिल्लो वर्ष २ करोड २९ लाख रहेको यस्तो आम्दानी घटेर यो वर्ष ७२ लाख ७० हजारमा सीमित हुन पुगेको हो । 

कम्पनीले अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ३०२ प्रतिशतको प्रगति गर्दा कर्जातर्फ भने ६४७ प्रतिशतको फड्को मारेको छ । यसले यो कम्पनीको निक्षेप र कर्जा परिचालनतर्फको प्रगति कति असन्तुलित छ भन्ने देखाउँछ ।

कम्पनीको रिजर्ब पनि निकै धेरै खिइएको छ । अघिल्लो वर्ष १३ करोड २६ लाख रहेको रिजर्ब घटेर यो वर्ष ७ करोडमा सीमित बन्न पुगेको हो । 

यो कम्पनीले सबैभन्दा राम्रो सुधार खराब कर्जा घटाएर गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३१.८९ प्रतिशतको कहालीलाग्दो अनुपातमा रहेको खराब कर्जा घटाएर यो वर्ष २.५७ प्रतिशत कायम गर्ने सफलता पाएको हो । 

खूद नाफा घटेका कारण कम्पनीको प्रतिसेयर आम्दानीमा करिब ६३ प्रतिशतको पहिरो गएको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ५८ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष ५ रुपैयाँ ३ पैसामा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७६.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.८३ गुणा कायम भएको छ ।