काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले प्रिमियम मूल्यमा साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्ने भएको छ । 

बैंकले आगामी पुस २९ गते आह्वान गरेको ३१ औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने प्रस्ताव राखेको हो । 

काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेदेखि बोलाइएको सभामा बैंकको कुल सेयर पूँजीमा आवश्यक सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम  गर्नका लागि साधारण सेयर थप निश्कासन गर्ने अजेण्डा राखिएको छ । 

थप सार्वजनिक निश्कासन हुने साधारण सेयरको संख्या निर्धारण गर्न र सोको अंकित मूल्यमा प्रिमियम समेत थप गरी जारी हुने सेयरको प्रिमियमसहितको मूल्य निर्धारण गर्न, थप सार्वजनिक निश्कासन गरिसकेपछि बैंकको जारी तथा चुक्तापूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम जारी तथा चुक्तापूँजी कायम गर्न र एफपीओपछि कायम हुने सेयर स्वामित्वअनुपात अनुसार नै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अजेण्डा समेत राखिएको छ । 

यसपटक हिमालयन बैंकले संस्थापक सेयरधनीको तर्फबाट ५ सञ्चालक र साधारण सेयरधनीहरुको तर्फबाट १ सञ्चालकको निर्वाचन समेत गर्नेछ । 

सभामा गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाब, विभिन्न सहायक कम्पनीहरु समेतको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने अजेण्डा पनि समेटिएको छ ।