काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले यो वर्ष लगानीकर्तालाई २० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो। मुनाफाको यो दर चौथो त्रैमाससम्म कायमै रहेमा र सो अवधिसम्म नियामकीय व्यवस्थाका थप दायीत्वहरु सिर्जना नभएमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोडको हाराहारीमा पुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछ । 

समीक्षा अवधिमा हिमालयन बैंकको खूद नाफा २ अर्ब १ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १०.२४ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्ष २ अर्ब १६ करोडमा सीमित संचालन मुनाफा बढेर २ अर्ब ८६ करोड पुगेको छ भने ३ अर्ब २० करोडमा सीमितमा खूद ब्याज आम्दानी बढेर ३ अर्ब ७५ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ८ अर्ब निक्षेप संकलन गरी ९७ अर्ब ७७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा ९.६९ प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जा लगानीतर्फ भने १३.७० प्रतिशतले वृद्धि गरेको छ । 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ५२ करोडमा सीमित रिजर्बको आकार बढाएर ५ अर्ब १९ करोड पुर्याएको छ । 

बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १.१९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष १.३१ प्रतिशत पुगेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ६.०८ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ६.६८ प्रतिशत पुगेको छ भने ९.४२ प्रतिशत रहेको आधारदर घटेर ९.१ प्रतिशतमा सीमित बनेकोछ। 

बैंकले समीक्षा अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा  ५ प्रतिशतको हाराहारीमा वृद्धि गरी ३१.५२ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ १७९.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५४ गुणा कायम भएको छ।