काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले. निकट भविष्यमै साधारण सेयरको थप निश्कासन(एफपीओ जारी) गर्ने भएको छ ।

यो बैंकलाई राष्ट्रबैंकले थप १५ प्रतिशत साधारण सेयर निश्कासनको निर्देशन दिएसँगै बैंकले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्ने योजना बनाएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले बिजशालासँग कुरा गर्दै राष्टबैंकको निर्देशनपछि आफूहरुले निकट भविष्यमै एफपीओ जारी गरी थप १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा रुपान्तरण गर्न लागेको जानकारी दिए । 

'एफपीओ जारी गर्ने र यसको प्रतिकित्ता मूल्यको बारेमा एजीएमपछि बन्ने नयाँ संचालक समितिले उपयुक्त निर्णय लिनेछ ।' सीइओ राणाले बिजशालासँग भने-'अंकित दरमा प्रिमियम मूल्य थपी एफपीओ निश्कासन गर्ने कुरा चाहि निश्चित जत्तिकै हो ।' 

यो बैंकलाई नेपाल राष्टबैंकले निर्वाचनको प्रक्रियामार्फत नयाँ संचालकहरु चुन्न यसअघि नै निर्देशन दिइसकेको छ । योसँगै बैंकमा लामो समयदेखि चल्दै आएको श्रेष्ठ समूहको राज अन्त भई बाफियाले गरेको व्यवस्था अनुसारका संचालक आउने र तिनै संचालकहरुको बैठकले एफपीओको विषयमा उयुक्त निर्णय लिने बताइएको छ ।  

अहिले हिमालयन बैंकमा ८५ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व छ । सर्वसाधारणको सेयर स्वामित्व १५ प्रतिशत मात्र छ । राष्ट्रबैंकको निर्देशन कार्यान्वयन गर्ने गरी एफपीओ जारी गरेपछि सर्वसाधारणको सेयर स्वामित्व बढेर ३० प्रतिशत पुग्नेछ भने संस्थापकको घटेर ७० प्रतिशतमा सीमित हुनेछ ।

यो बैैंकमा पाकिस्तानी हबिब बैंकको २० प्रतिशत लगानी रहेको छ । यस्तै कर्मचारी सञ्चयकोषको १४ प्रतिशत सेयर स्वामित्व छ । बाँकी रहेको ५१ प्रतिशत सेयर स्वामित्व नेपालका प्रतिष्ठित व्यवसायिक तथा औद्योगिक घरानाको छ । 

बाफिायामा बैंक तथा बित्तीय संस्थाले न्यूनतम ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले हिमालयन बैंकलाई पत्र लेख्दै १५ प्रतिशत थप सेयर सर्वसाधारणमा जारी गर्न निर्देशन दिएको हो ।