काठमाण्डौ । धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि जनता बैंक नेपाल र हिमालयन बैंक लिमीटेडले पूँजी वृद्धिको योजना अनुसार १ करोड ६७ लाख २७ हजार कित्ता हकप्रद निश्कासनको तयारी थालेका छन् । 

स्वीकृत हकप्रद निश्कासनको तयारी स्वरुप दुवै बैंकले बुक क्लोजको मिति समेत सार्वजनिक गरेका छन् । 

माछापुच्छे बैंकसँगको मर्जर भाँडिएपछि आफैं पूँजी वृद्धिको योजनामा अगाडि बढेको जनता बैंक नेपालको २०७३ जेठ ३० गते सम्पन्न छैठौ वार्षिक साधारणसभाबाट २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद निश्कासनको एजेण्डा पारित भएको थियो । 

बैंकले बुधबार प्रकाशित गरेको एक सूचना अनुसार हकप्रदका लागि बुक क्लोजको मिति कात्तिक ११ गते तोकिएको छ । कात्तिक १० गतेभित्र यो बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

जनता बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ३ लाख कित्ता हकप्रद निश्कासन गर्दैछ । जनता बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३२ करोड ५३ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकको चुक्तापूँजी हाल कुल २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । यो बैंकको अक्टोबर १८ को मितिले अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ५ सय ३५ रुपैयाँ रहेको छ । 

यसैगरी, २०७२ पुस ८ गते सम्पन्न हिमालयन बैंकको २३ औं वार्षिक साधारणसभाबाट पारित ७ बराबर १ अर्थात १४.२८ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । सोही हकप्रदका लागि बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै कात्तिक १० गतेको मितिलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ कात्तिक ९ गतेसम्म हिमालयन बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिनसक्ने छन् ।

हिमालयन बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद निश्कासन गर्दैछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेको थियो । यो बैंकको हाल चुक्तापूँजी ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । घोषित हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ५ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । अक्टोबर १८ को मितिमा यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १ हजार ६ सय रुपैयाँ रहेको छ ।