-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अंग्रेजी वर्ष सन् २०२३ को आइतबार अन्तिम दिन हो ।

नेपालको सेयर बजार सार्बजनिक विदाका कारण यो दिन बन्द छ । तर सन् २०२३ लाई फर्केर हेर्दा  नेपालको पूँजीबजारमा यो वर्ष लगानीकर्ताको लागि खासै उपलब्धिपूर्ण हुन सकेन ।

सेयर बजार १ हजार ८०० देखि २ हजार २०० विन्दुसम्म नै साइडवेजमा नै  रह्यो । त्यसो त पूँजीबजार यो  वर्ष मात्रै साइडवेज चलेको भने होइन। बिगत १८ महिनादेखि नै बजार साइडवेजमा चलिरहेको छ । सन् २०२२ को अगष्टमा हालसम्मको उच्च विन्दुमा चुमेको बजार त्यसको ठीक एक वर्षमा करिब १ हजार ४०० अंक गुमाएर पहिलो पटक १ हजार ८००को विन्दुमा आयो ।

त्यसपछि करिब १८ महिना बजार साइडवेजमा नै चल्यो । यो बीचमा बजार चार पटक २ हजार २०० नजिक पुग्यो भने चार पटक नै १ हजार ८०० नजिक आयो । वर्षको अन्त्यमा २ हजार ६८ को बिन्दुमा बन्द भएको बजारमा भने सन्  २०२४  भने बुलिस वर्ष हुनसक्ने बलिया आधारहरु आधारभूत तथा प्राविधिक रुपमा देखिन्छन् ।

यहाँ निर एक प्रश्न स्वभाविक रुपम उठ्न सक्छ  ती आधारहरु चाहिं के- के हुन् त ?
आधारभूत आधार :

  • ब्याजदर र तरलता

आधारभूत रुपमा हामीले बजारको अवस्थालाइै नियाल्दा बजारमा तरलता र ब्याजदरलाई नै नियाल्नु पर्ने हुन्छ । यो वर्ष इतिहासमा नै पहिलो पटक निक्षेप ६० खर्ब रुपैयाँ माथि छ । त्यही अनुसार कर्जा परिचालन पनि भएको छ । तर अपेक्षित रुपमा अझै हुन सकेको अवस्था भने छैन । ब्याजदर करिब- करिब एकल अंकमा आउने क्रममा छ । यो अवस्थामा अन्य लगानीका विकल्प  खुम्चिदै जाँदा धितोपत्र बजारले गति लिने निश्चित जस्तै हो । तर पनि सेयर बजार लगानीकर्ताको मनोबलमा चल्ने भएका कारण केही महिना अझै साइडवेज अर्थात् २ हजार २०० विन्दु तलनै चलेर अगाडि जान्छ । 
प्राविधिक आधार :
बोलिङगर ब्यान्ड : बजारलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा गएको २८  महिनामा यो महिना पहिलो पटक मध्य ब्यान्डभन्दा माथि बजार बन्द भएको छ । यसअघि पनि बजार बढ्दा मध्य ब्यान्ड बजारले नछोएको भने होइन तर ब्रेक नै गरेर माथि गएको थिएन ।

(हेर्नुहोस तल चित्रमा एरो ) यसको अर्थ सेयर एक्युमुलेसन हुँदै गरेको भन्ने हो । विगतको अवस्था हेर्दा मध्य ब्यान्डमा केही समय बजार चलेपछि बुल यात्रा तय गरेको देखिन्छ । यो इन्डिकेटरबाट बजारको नियाल्दा अहिले नै मूल्य रेखा अपर ब्यान्डसँगसँगै हिंडेको अवस्था भने होइन । त्यो हुन बजार २ हजार २००विन्दु माथि टिकेर नै करोबार हुनु पर्ने हुन्छ । 
मन्थ्ली बेसमा बजारको अवस्था म्याक्डीमार्फत्  हेर्दा अहिले नै बुलिस क्रसआभर भने भएको अवस्था होइन । तर हिस्टोग्राम पनि छोटा छोटा हुँदै गएको अवस्थामा छन् ।

म्याक्डीबाट नियाल्दा पनि केही समय बजार अझै साइड वेज चल्ने तर यो आगामी वर्ष बजार बुल बर्ष नै हुने निश्चित जस्तै देखिन्छ । आरएसआईबाट नियाल्दा हाल ५० को न्युट्रल जोनमा रहेको छ । तर यस अघिको प्रतिरोध ५२ भन्दा माथि जान भनेको सकेको छैन । तर यसले धेरै पल्ट ४० को तहमा सपोर्ट लिएको कारण अवको केही सयममा बजारले अप ट्रेन्ड लिन सक्छ ।

समग्रमा तीन वटै इन्डिकेटरबाद नियाल्दा विगत १८ महिना साइडवेज चलेको बजार आगामी वर्ष २०२४ एतिहासिक हुन सक्ने सम्भावना रहन्छ । तर यसको लागि भने बजार केही समय साइडवेज चलेर केही समय शक्ति सञ्चयपछि गति लिन सक्छ । यस पटकको बुल पनि छोटो समय चल्न सक्ने तर पहिलेको  उच्च रेकर्ड  भने तोड्न सक्छ । जसलाई इलिअट वेभबाट नियाल्दा पनि यो वर्ष  ‘३ अफ ३ अफ’  चल्ने देखिन्छ ।

हालको करेक्सन माइनरको २ भएको र अब ३ चल्दा पहिलेको उच्च विन्दु तोड्न पनि सक्छ । क्षेत्रगत रुपमा हेर्दा यो पल्ट दोस्रो बजारमा उत्पादन तथा प्रशोधन, निर्जिवन, बीमा  लगानी र अन्य क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्न सक्ने छ । 
निष्कर्ष : विश्व सेयर बजारका गुरु वारेन बफेटको भनाइलाई सापट लिने हो भने सेयर बजारमा भबिश्य सँधै अस्पष्ट नै हुने गर्छ । लगानीकर्ताले जहिले पनि बढ्दो बजारलाई भन्दा घट्दो बजारलाई महत्व दिनु पर्छ ।  सेयर बजार सँधै बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन । 

विगतको बजारको ट्रेन्ड हेर्दा नेपालमा झण्डै तीन वर्ष बजार वियरिस र साइडवेज चलेर पछि बजारले अप ट्रेन्ड लिएको उदाहरण थुप्रै छन् । यस हिसावले हर्दा सन् २०२३ मा साइड वेज चलेको बजार सन् २०२४ भने एतिहासिक हुन सक्छ । जसलाई प्राविधिक  रुपमा इलिअट वेभ र अन्य इन्डिकेटरले पुष्टि गरेको छ। 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)