काठमाण्डौ ।नेपालमा रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ। 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ ।

चालू आवमा पहिलो चार महिनामा नेपालमा भित्रने रेमिट्यान्स २६.४ प्रतिशतले बृद्धि भएको छ ।

उक्त अवधिसम्ममा कुल ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ। 

जुन गत आवको सोहि अवधिको भन्दा २६.४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको थियो । 

यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स २३.१ प्रतिशतले बृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई  ५२१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।