काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले पनि प्रिमियम मूल्य तोकेर साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । यो बैंकले ९ लाख ७५ हजार कित्ता सेयर एफपीओ गर्ने भएको हो । 

नेपाल ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । तीन वर्षअघि पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक र सुदुर पश्चिमाञ्चल ग्रामीण विकास बैंकबीच मर्ज भई नेपाल ग्रामीण विकास बैंक अस्तित्वमा आएको हो । 

यो बैंकको चुक्तापूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । यो बैंकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ८२.१३ : १७.८७ प्रतिशत रहेको छ । एफपीओपछि बैंकको चुक्तापूँजी ६५ करोड ५० लाखको उचाईमा पुुग्नेछ भने संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ६९.९०ः३०.१० प्रतिशत कायम हुनेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकले जारी गर्न लागेको एफपीओको बिक्री प्रबन्धक पनि तोकेको छैन । यो बैंकको आइतबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ सय ३४ रुपैयाँ रहेको छ ।