काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का सल्लाहकार तथा वरिष्ठ बैंकर अशोक एसजेबी राणाले मंसिरमा बैंकको ब्याजदर घट्ने दाबी गरेका छन् । 

एनबीएले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् । 

अघिल्ला महिनाहरुबाट नै ब्याजदर क्रमशः घटिरहेको र तत्काल पुनः बढ्ने कुनै कारण नभएकोले मंसिरमा ब्याजदर घट्ने उनले दाबी गरेका हुन् । 

मंसिरमा ब्याजदर घट्छ कि बढ्छ ? भन्ने पत्रकारहरुको जवाफ दिंदै हिमायलन बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राणाले भने–'तल जान्छ, माथि लाग्दैन ।' 

सोही कार्यक्रममा एनबीएका अध्यक्ष सुनिल केसीले पनि ब्याजदर आगामी दिनमा थप नबढ्ने संकेत गरे । 

'विदेशतिरको उदाहरण हेर्दा पनि अमेरिकाले ब्याजदर थप बढाएन । अन्य धेरै देशमा पनि ब्याजदर अब बढ्दैन भन्नेछ ।' उनले भने-'नेपालमा समेत घट्दै आएको छ । असोज अन्तिमसम्मको वाणिज्य बैंकहरुको औसत आधारदर एकल अंक(९.९४ प्रतिशत)मा आइसकेको छ । गत वर्ष यस्तो दर १०.०९ प्रतिशत थियो ।' 

औसत ब्याजदर घट्दै गए पनि कतिपय बैंकहरुले आफ्नो आवश्यकताका आधारमा फ्री मार्केट पोलिसीअनुसार नियमभित्र रहेर ब्याजदर बढाउन पाउने समेत उनले जिकिर गरे । ‘अधिकांशले घटाउँदै लगेका छन् ।’ उनले थपे–‘केहीले बढाए भने त्यो उनीहरुको बाध्यता हो । अझ भनौं मार्केटको माग पनि ।’

उनलाई केही दिनअघि आर्थिक पत्रकारहरुको काठमाण्डौमा भएको एउटा कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले केसी सीइओ रहेको एनएमबी बैंकले कात्तिकमा ब्याजदर किन बढाएको ? भनेर प्रश्न गरेका थिए । सो विषय आज पनि उठेका कारण त्यसको जवाफमा केसीले फ्री मार्केटमा संस्था विशेषको आवश्यकताअनुसार नियमभित्र रहेर ब्याजदर बढाउने वा घटाउने विषय सामान्य हुने तर्क पेशका गरेका हुन्। 

*यसअघिको समाचार र हेडलाइनमा मंसिरमा हुनुपर्नेमा कात्तिकमा भएकोमा सच्याइएको छ । 
-सम्पादक