काठमाण्डौ । निकै लामो समय खराब अवस्थाबाट गुज्रिएको र सरकारको धेरै सेयर रहेर पनि प्रगति गर्न नसकेको कम्पनीको रुपमा परिचित कृषि विकास बैंकले आफूमा आमूल सुधार गर्दै लगेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको बित्तीय विवरणमा यो बैंकको प्रगतिले यही कुरा देखाएको छ ।

यो अवधिमा बैंकले खुद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २१ करोड खुद नाफा गरेकोमा यो वर्षको सोही अवधिमा नाफा बढाएर १ अर्ब ५७ करोडको उचाईमा पुर्याएको हो ।

यो बैंकले संचालन मुनाफामा निकै ठूलो छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिमा ६८ करोड ४५ लाख रहेको संचालन मुनाफा बढेर यो वर्षको सोही अवधिमा १ अर्ब ८१ करोड पुगेको छ।

बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ६३ करोडमा सीमित खुद ब्याज आम्दानी यो वर्ष बढेर ५ अर्ब १५ करोडको उचाईमा पुगेको छ ।

बैंकले यो अवधिमा ८९ अर्ब ५३ करोड निक्षेप संकलन गरी ८८ अर्ब ६८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८३ अर्ब ५१ करोड निक्षेप संकलन गरी ७४ अर्ब २७ करोड कर्जा परिचालन गरेको थियो । बैंकको यो वर्षको तेश्रो त्रैमासमा सीसीडी रेसियो ६९.३४ प्रतिशत कायम भएको छ ।

बैंकको यो अवधिमा प्रति सेयर आम्दानीमा भने पहिरो गएको छ । यसको मुख्य कारण बैंकले यही अवधिमा ५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर जारी गर्नु हो । यही कारण अघिल्लो वर्ष यो अवधिमा ४१ रुपैयाँ ८ पैसाको उचाईमा रहेको इपीएस घटेर यो वर्ष २९ रुपैयाँ ६३ पैसामा सीमित बन्न पुगेको छ ।

तेश्रो त्रैमाससम्म बैंकको चुक्तापुँजी ७ अर्ब ८ करोड रहेको छ भने रिजर्बमा ८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको प्रति सेयर नेटवर्थ २२२ रुपैयाँ ५८ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात चाहि १९.९८ गुणा कायम भएको छ ।