-भक्तराज रसाइली
काठमाण्डौ । अंकहरुको खेल मानिने सेयर बजार सामान्य व्यक्तिका लागि जटिल विषय होला, तर यसमै भिजेर तथ्य र तथ्याङ्कलाई विश्लेषण गरी लगानी रणनीति अपनाउन सके मनग्यै आम्दानी हुने क्षेत्र पनि हो यो । रगतमै सेयरको नशा भएका जुझारु युवा सेयर लगानीकर्ता हुन् हरेराम घिमिरे ।
इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक समेत रहेका घिमिरेको पुख्र्यौली घर भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका हो । उनी हाल सल्लाघारी भक्तपुरमा बसोबास गर्छन् । लायन्स क्लबमा समेत सक्रिय उनको सेयर बजारमा २ दशकको अनुभव रहेको छ । अध्ययनका सिलसिलामा राजधानी छिरेका उनै घिमिरे सेयर बजारले नै करोडपति बनाएको एक उदाहरणीय पात्र समेत हुन् ।
कुरा २०५५ सालतिरको हो, उनी राजधानी उच्च अध्ययनका सिलसिलामा छिरे । आफ्ना दाजु जयराम घिमिरे ब्रोकर हाउसमै कार्यरत थिए । दाजु जयरामकै ज्ञान र सल्लाह मुताविक सेयर बजारमा प्रवेश गरेका उनी आफ्ना दाजुलाई नै सेयर बजारमा छिराउने प्रेरक व्यक्ति ठान्दछन ।
उसो त घिमिरेले आफैं पनि ब्रोकरेज हाउसको लामो अनुभव सँगालेका रहेछन् । ब्रोकरेजकै काम गर्दा गर्दै उनले त्रिचन्द्र कलेजबाट एमए(समाजशास्त्र) र आरआर क्याम्पसबाट पनि बीए(राजनीतिक शास्त्र) अध्ययन पूरा गरे । हालसम्म ३ वटा बुलसमेत देखिसकेका उनै घिमिरेले २०५६ सालमा एनआइसी(हाल एनआइसी एसिया बैंक)मा १ हजार लगानीबाट सुरुवात गर्दै १० कित्ता सेयर हात पारे । दोस्रो बजारमा भने बीओकेको १ सय कित्ता सेयर प्रतिकित्ता रु. १ सय ८० मा खरिद गर्दै पाइला चाले ।
‘सेयर बजारले डुबायो भन्छन्, तर हैन पवित्र स्थल हो, भगवानको मन्दिर हो, अनादर गर्नै मिल्दैन । भगवानले सबैको रक्षा गर्छन्।’
घिमिरेले आफ्नो पोर्टफोलियोमा भएका नराम्रा कम्पनीका सेयरलाई चिलिमे हाइड्रोपावर र एभरेष्ट बैंकमा परिवर्तन गरिदिए । अवसर र परिस्थिति हेरेर पोर्टफोलियो परिवर्तन गर्न सकेको खण्डमा सुनौलो अवसरमा ढाल्न सकिने अनुभव सुनाए । प्रतिकित्ता रु. ५९० मा चिलिमे र रु. ६७० मा एभरेस्ट बैंकको सेयर दोस्रो बजारबाट उठाएका घिमिरेले क्रमशः ३ र ५ वर्ष होल्ड गरेपश्चात प्रतिकित्ता रु. २७ सय र रु. ३६ सयमा बेच्न सफल बनेको मीठो अनुभव सुनाए ।
दुई दशकको अनुभवका आधारमा सेयर बजारलाई कसरी हेर्नुहुन्छ भन्ने बिजशालाको जिज्ञासामा सुझबुझपूर्ण लगानी र सबै वर्ग र तप्कालाई समेट्ने क्षेत्र भएको घिमिरेको बुझाई छ । वैकल्पिक पेशा अपनाएर सेयरमा लगानी गर्नुपर्ने धारणा राख्दै उनले भने–‘थोरै पूँजी समेत लगानी र परिचालन हुने तरलताको क्षेत्र समेत हो ।’
लहैलहैमा नलागी तथ्य विश्लेषण गर्दै परिस्थितिलाई चिन्न सके सेयरको लगानीमा सफल भइने उनको तर्क छ । कुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि तथ्य मिहिन ढंगले केलाउन आवश्यक रहेको उनले बताए । ‘मेरो अनुभवमा भन्नुपर्दा ३ वा ४ वर्ष होल्ड गर्नसक्नुपर्छ । दीर्घकालको लगानीले नै गतिलो प्रतिफल दिन्छ।’ घिमिरे भन्छन् ।
दुई दशक सेयर बजारलाई नजिकबाट नियालेका घिमिरेले नेपालको पूँजीबजार विकासक्रममा नै रहेको बताउँदै लगानीकर्ताको संख्या १५ लाख पुग्नु तथा ब्रोकर कम्पनीको विकास पनि राम्रै भएको बताए । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीको पूर्ण कार्यान्वयन र पूँजीबजारमा रहेको हाल ल्याप्चे युगको अन्तका लागि सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने उनको धारणा छ ।
बहकाउमा गरिएको लगानी उपयुक्त नहुने जिकिर गरेका घिमिरे आफैंले विश्लेषण गरिए लगानीकर्तामा अलमल नहुने र प्रतिफलसमेत सुनिश्चित पार्न सकिने दाबी गर्छन् । कम्पनीको वृद्धि अनुपात र प्रतिफल अनुपातलाई केलाउन उनले सुझाए । आत्मविश्वासका साथ कम्पनीका तथ्यहरुलाई केलाएर लगानी निर्धारण गर्न सकेमा घाटा नै नहुने उनले ठोकुवै गरे ।
बजारको उत्तारचढाव सामान्य रहेको मत राख्दै घिमिरेले आत्तिएर सेयर बेच्नू भनेको मूर्खतापूर्ण रहेको सुनाए । क्षमताभन्दा बढी पनि सेयर लगानी घातक हुने उनी बताउँछन् । ‘घाँटी हेरी हाड निल्नुपर्छ।’उनले बिजशालासँग भने–‘अन्ततोगत्वा दीर्घकालीन लगानीकर्ताले नै बजारबाट कमाउने हो।’
सेयरबजारबाट अलग्गिन मन नलागेको बताउँदै घिमिरे भन्छन्–‘सेयर बजार नशा भयो, लत भयो । मेरो त रगत र नशामै सेयरबजार छ जस्तो लाग्छ ।’
सेयरबजारलाई पवित्र मन्दिर ठान्ने उनले यही बजारले नै घरजग्गा र छोराछोरीको शिक्षादीक्षामा सहयोग गरिरहेको बताए । ‘सेयर बजारले डुबायो भन्छन्, तर हैन पवित्र स्थल हो, भगवानको मन्दिर हो, अनादर गर्नै मिल्दैन । भगवानले सबैको रक्षा गर्छन्।’–उनले थपे ।
सिद्धार्थ बैंकको आइपीओ ७ सय कित्ता सेयर प्रतिकित्ता रु ८ सयमा बेच्दा निकै उत्साहित भएका घिमिरेले आजीवन सेयर बजारको लगानीमै रम्ने बताए । २०५९ सालताका नेपाल प्रहरीमा असई पदमा जागिर कन्फर्म हुँदा समेत सरकारी जागिरमा रुचि नदेखाएका घिमिरे दैनिक एकघण्टा निवासमा तथ्याङ्कमा घोत्लिदा रहेछन् । कुल पोर्टफोलियोमा ८० प्रतिशत दीर्घकालीन र बाँकी २० प्रतिशत अल्पकालीन लगानी गर्दै आएका उनले हाल १० देखि १५ प्रतिशत मात्र पोर्टफोलियोमा गिरावट आएको जिकिर गरे ।
ब्याजदर सन्तुलन कायम राख्नुपर्ने विचार पोखेका घिमिरेले बजारलाई स्थिर राख्न नयाँ औजारहरुको समेत विकास गर्न जरुरी रहेको औंल्याउँछन् । सेयर सचेतनामा जोड दिनुपर्ने र सरकारले समेत लगानीकर्ताहरुको मनोबल उच्च राख्न कञ्जुस्याईँ गर्न नहुुने उनको बुझाइ छ ।
नयाँ लगानीकर्ताहरुलाई बहकाउमा बजार नछिर्न आग्रह गरेका घिमिरे सेयर बजारबारे अध्ययन गरी वा तालिम लिएर मात्र प्रवेश गर्नुपर्ने सुझाव दिन्छन् । अरुले कमाएको देखेर दौडनुभन्दा सफल लगानीकर्ताहरु असफल भएको पाटोमा समेत मनन गर्न जरुरी रहेको उनको धारणा छ । सेयर बजारमा सेयरको मूल्यमा भएको गिरावटलाई सामान्य ठान्दै आफ्नो टार्गेटमा आत्मविश्वासका साथ लगानी गर्नुपर्ने घिमिरे बताउँछन् ।
‘हालको बजार निरन्तर घटिरहेको छ, तर यस्तो बजारबाट भाग्नु कायरता हो ।’ उनले भने–‘म ठोकुवाका साथ भन्छु,अहिले लगानी गर्नेले घाटा बेहोर्दैन । मेरो निजी अनुभवमा भन्दैछु ,एक वा डेढ वर्षभित्र बुल कन्फर्म आउँछ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago