– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयरधनी लगानीकर्ता संघका संस्थापक सल्लाहकार एवं बजार जानकार उपेन्द्र पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालका कारण सेयर बजार फेरि १८०० को लाइनमा झरेको आरोप लगाएका छन्। 

पाठकले बजार यसरी दैनिक खस्नुको मुख्य कारण हकप्रद र आईपीओको ओभरसप्लाई नै रहेको बताए। ‘१० कित्ते नीतिले पनि बजारलाई असर गरेको छ’, पाठकले बिजशालासँग भने, ‘१० कित्ते नीतिले जस्ता पनि कम्पनीको सेयर बजारमा बिक्री हुने अवस्था आयो। यही मौका छोपेर घाटामा गएका कम्पनीहरुले पनि प्रिमियममा आईपीओ ल्याउने काम भयो।’

अहिले आएर बजारमा अप्पर तामाकोशीको हकप्रद सेयर पनि नबिकेको पाठकको भनाइ छ। ‘बजारमा कम्पनी खोल्नै पाइँदैन, आईपीओ ल्याउनै पाइँदैन भनेर दीर्घकालीन लगानीकर्ताले कहिल्यै भन्दैनन्’, उनले प्रश्न गरे, ‘तर, के नयाँ कम्पनी भन्दैमा सबैलाई प्रिमियममा आईपीओ ल्याउन दिनु उचित हो ? चरम बियरिस अवस्थामा रहेको बजारलाई जोगाउने उपायबारे नियामकले सोच्नुपर्दैन ?’

अवश्यकताअनुसार नयाँ कम्पनीहरु पनि बजारमा आउनुपर्ने पाठक बताउँछन्। ‘तर, बजारमा ल्याएर संस्थापकहरुले प्रिमियममा पैसा उठाउन जायज छ ?’, उनले प्रश्न गरे। 

अब केही समयसम्म नयाँ कम्पनीलाई आईपीओ ल्याउन नदिएर बजारमा सप्लाई रोक्नुपर्ने पाठकको सुझाव छ। ‘बजार ३२०० बाट १८०० आउनुमा यसको सम्पूर्ण दोष राष्ट्र बैंकलाई जान्छ। यो विषय घामजस्तै छर्लङ  भइसकेको छ’, उनले भने, ‘राष्ट्र बैंकले आफ्ना नीतिलाई परिमार्जन पनि गर्दै गएको छ। आउने दिनमा पनि होलान्।’

बजार १८०० देखि २२०० को विन्दु आसपास १५ महिनासम्म घुमेर बस्नुमा धितोपत्र बोर्ड पनि उत्तिकै जिम्मेवार रहेको पाठकले बताए। ‘खासगरी बजार माथि उठ्न नसक्नुमा धितोपत्र बोर्डले दिएको ओभरसप्लाई नै हो’, उनले भने।

त्यसैले सेयर बजार अहिलेको विकराल अवस्था आउनुमा मुख्य दोषी गभर्नर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष हमाल नै रहेको पाठकको ठम्याइ छ।