काठमाण्डौ । चौतर्फी आलोचनाबाट बच्न र आफू निकटका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बचाउन गरिएको कच्चा प्रयास असफल भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताहरुको योजनामा पार्टीको अर्थ तथा योजना विभागको सदस्य बनाइएको व्यक्ति एम. अधिकारी गभर्नर महाप्रसाद नभई अर्कै व्यक्ति रहेको भनी विराटनगरका एकजना चार्टर्ड अकाउण्टेन्टलाई तयार गरिए पनि उनी बलीको बोका बन्न नमान्दा प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।
एमालेका प्रदेश १ कमिटीका केही नेता र केन्द्रीय सदस्य विनोद ढकाल लगायतले विराटनगरका सीए मनोज अधिकारीलाई एम. अधिकारी बनिदिन सेटिङ मिलाएका थिए । केही महिनाअघि मात्रै एमाले प्रवेश गरेका ३५ वर्षीय मनोज अधिकारीले पहिला पार्टीका नेताहरुको आश्वासन मानेर एम. अधिकारी बन्ने तत्परता देखाए पनि पछि फसिने डरले अन्तिम अवस्थामा आफैं गायब बनेका हुन् ।
अहिले एम. अधिकारीको रुपमा प्रस्तुत गर्न खोजिएका मनोज अधिकारी पार्टीले तनाव दिएको भन्दै मोवाइल स्वीच अफ गरेर गुप्तबास बसेका छन् । उनको ......२९४९१ नम्बरको मोवाइल नम्बर आज अपरान्ह ३ बजेदेखि स्वीचअफ छ ।
उनलाई एमालेका नेताहरुले खोटाङबाट विराटनगर आएर बसेका व्यक्तिको रुपमा प्रस्तुत गर्न खोजेका थिए । तर, उनी धनकुटाको मूर्तिढुंगाबाट विराटनगर बसाईसराई गरेका व्यक्ति हुन् । हाल उनको विराटनगर ३ स्थित पुष्पलालचौकमा तीनतले घर छ। उनले नागरिकता चाहिँ विराटनगर ५ ठेगाना राखेर लिएका पाइएको छ । आफ्नै घरमा सिए फर्म पनि छ । ३५ वर्षीय मनोज सोझा स्वभावका व्यक्ति हुन् । उनका स्थानीय एक साथी भन्छन्–‘विचरालाई नचाहिने तनाव आइलाग्यो । अहिले फोन स्वीचअफ गरेर गुप्तवास बसेको छ।’
एमालेको अर्थ तथा योजना विभागको सदस्यको रुपमा एम. अधिकारी नाम राखिएको छ । हालै गठन भएको विभागमा एम. अधिकारीको रुपमा राखिएका व्यक्ति राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेका भन्दै उनको सर्वत्र राजीनामा मागिएको छ । तीव्र आलोचित हुँदा समेत महाप्रसाद अधिकारीले र उनलाई बचाउने नाममा एमालेका नेताहरुले झूठमाथि झूठ बोलिरहेका पाइएको छ ।
यो प्रकरण बाहिर आएको केही दिन बितिसक्दा समेत एमालेले एम. अधिकारी नामक व्यक्तिलाई प्रस्तुत गर्न सकेको छैन । आफ्नो तर्कलाई कागजमा मात्र सीमित गरिरहेको छ ।
विराटनगरमा बसोबास गर्ने एक सोझा सिएलाई एम. अधिकारीको रुपमा प्रस्तुत गर्न खोजिएपछि र बलीको बोका बन्ने डरले मनोज अधिकारी गायब बनेपछि त झन् एम. अधिकारी महाप्रसाद नै रहेका दाबीमा थप बल पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago