काठमाण्डौ । विश्वव्यापी मन्दी, मूल्यवृद्धि, उच्च ब्याजदर र इजरायल–प्यालेस्टिनबीचको युद्ध लगायतका कारण नेपालको बैंकिङ क्षेत्र पनि स्लोडाउनमा जाने खतरा उत्पन्न भएको बैंकरहरुले दाबी गरेका छन् । 

स्लोडाउनमा जाने संकेत देखिए पनि सबै कुरा नियन्त्रणमै रहेको र बैंकहरुका विभिन्न सूचकमा देखिएको समस्या व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको समेत उनीहरुले दाबी गरेका छन् । 

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वाणिज्य बैंकहरुको वित्तीय स्वास्थ्यको संक्षिप्त चित्र प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष वाणिज्य बैंकहरुको खूद नाफा करिब २८ प्रतिशतले घटेको र खूद ब्याज आम्दानीमा पनि उस्तै प्रभाव देखिएको उनले बताए । 

गत वर्ष यही अवधिसम्म ७ अर्ब जति लोनको प्रभिजन रहेकोमा त्यो बढेर यो वर्ष १६ अर्ब पुगेको र यहीकारण बैंकको लाभांश क्षमतामा गम्भीर असर परेको उनको भनाई छ । 

‘यिनै कारण पहिलो त्रैमासमा एउटा बैंक घाटामा गयो, १३ वटाको नाफा घट्यो भने ६ वटाको मात्र नाफा बढ्यो ।’ केसीले भने–‘बाह्य क्षेत्र सकारात्मक हुँदा पनि बैंकिङदेखि निजी क्षेत्र र समग्र अर्थतन्त्रमै ग्रोथ देखिएको छैन । त्यसकारण अब सजग हुनुपर्ने बेला आएको छ ।’ 

बैंकहरुको एसेट क्वालिटी(सम्पत्तिको गुणस्तर) घट्ने क्रम बढेको उल्लेख गर्दै उनले गत असार मसान्तसम्म २.९८ प्रतिशत रहेको एनपीए बढेर पहिलो त्रैमासमा ३.६१ प्रतिशत(ग्रस एनपीए) पुगेको बताए । 

‘साउथ एशियाका अन्य देशहरुको तुलनामा हामी म्यानेजेलेबल ठाउँमै छौं । डराइहाल्नुपर्ने अवस्था भने छैन ।’ उनले थपे–‘तर सजग भएर अगाडि बढ्ने बेला चाहिँ आएको छ।’ 

प्रभिजन बढ्नु लसमा जानु होइन
अध्यक्ष केसीले खराब लोनको प्रभिजन ह्वात्तै बढ्नु भनेको बैंकहरु लसमै जान लागेका हुन् भनेर बुझ्न नहुने समेत प्रष्ट पारे । 

‘बैंकहरुका लागि खराब कर्जाको प्रभिजन गर्नु सेफ गार्ड लिएजस्तो हो । यो व्यवस्थाले बैंकहरुलाई अझ बलियो बनाउँछ ।’ केसीले थपे–‘प्रभिजन भनेको अहिलेको टाइममा डिफल्ट मात्र हो, लस चाहिँ होइन ।’ 

उनले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसक्दा त्यसको प्रभाव सबैतिर देखिन थालेको समेत बताए । गत वर्ष २ प्रतिशत मात्र जीडीपी ग्रोथ रहेकोमा चालु वर्षका लागि विश्व बैंकले ४ प्रतिशतको प्रक्षेपण गरेकोले सकारात्मक बन्नुपर्ने अवस्था समेत रहेको बताए । 
‘अर्थतन्त्रमा स्लोडाउन हुन खोजेको त छ, तर आशा गर्न सकिने ठाउँहरु पनि प्रशस्तै छन् ।’ उनले भने–‘बैंकहरुसँग साढे ७ सय अर्ब पूँजी छ । डराउनुपर्ने अवस्था छैन ।’ 

सोही कार्यक्रममा बोल्दै वरिष्ठ बैंकर अशोक एसजेबी राणाले अर्थतन्त्रको बाह्य क्षेत्र सन्तोषजनक रहे पनि आन्तरिक भने समस्याग्रस्त रहेको टिप्पणी गरे । 

तिहारपछि सरकारले नीतिगत प्रष्टता ल्याउने आफूहरुको अपेक्षा रहेको उनको भनाई छ । 

उनले कर्जाको माग नहुँदा ग्रोथ नभएको उल्लेख गर्दै भने–‘अवस्था खासै राम्रो छैन ।’