काठमाण्डौ । नेपालका धेरै बैंकरका गुरु हुन् पर्शुराम कुँवर क्षेत्री । संघर्षका कठीन पहाडहरुलाई छिचोल्दै लोभलाग्दो करिअर बनाएका उनी हाल जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 

धेरै बैंकर जन्माएका र स्वयम् आफ्नो पनि उद्योगमै राम्रो नाम बनाएका कुँवरको बाल्यकाल निकै पीडादायी रह्यो । ९ वर्षको उमेरमा आमा गुमाएका उनले एसएलसीसम्मको पढाई मामली घरबाटै सिध्याए । 

तर, जन्म दिने आमा बितेपछि टुहुरो भए पनि अर्की आमाले आफूलाई जन्म दिने आमाजत्तिकै माया दिएको र त्यसमा मामा घरको हजूरआमाको माया पनि थपिएको स्मरण कोट्याउँदा क्षेत्रीको अनुहारमा खुशी छचल्कियो ।

उनले कुराकानीको सुरुवातमै आफूलाई जीवनमा दुई आमा पाउने र तीन आमाहरुको ममता पाउने भाग्यमानी व्यक्तिको रुपमा प्रस्तुत गरे । 

उनले आफ्ना दुई आमा र आमाको भूमिकामा उनलाई माया दिएकी मामलीतर्फको हजूरआमाको विषयका केही संस्मरणहरु बिजशालासँग सेयर गरे । बाँकी उनकै शब्दमा:
 

मेरो आमा म ९ वर्षको हुँदा बित्नुभएको हो । त्यसैले पनि आमा भन्ने शब्द प्रयोग गर्दा वा कसैले भन्दा म सधैं भावुक भइराखेको हुन्छ । 

मलाई मेरो बाल्यकाल वा आमा बित्दाको क्षणको धेरै कुरा याद छैन । तर, म साह्रै बदमास र चकचके थिएँ, साह्रै छुच्चो पनि थिएँ, त्यही भएर मलाई आमाले पिटेको चाहि सम्झन्छु ।

तर, म आमाको हिसाबले म भाग्यमानी पनि हुँ । किनभने मैले दुई आमाको माया पाएँ । देवकी आमाले मलाई जन्म दिनुभयो र बित्नु भयो । त्यसपछि मैले यशोदा आमा पाएँ, उहाँ वास्तवमा यशोदा आमा नै हुनुहुन्थ्यो । उहाँ बित्नु भएको पनि ८ वर्ष हुनै लाग्यो ।

मेरा दुई आमा हुनुहुन्थ्यो, दुवै आमालाई मैले गुमाएँ । यशोदा आमाले मलाई मेरो अर्को आमा भनेर कहिल्यै महसुस गराउनुभएन । एउटा उदाहरण दिन्छु, आमाको पेवाको रुपमा केही जग्गा जमीन थियो । उहाँको शेखपछि मलाई अर्काको छोरा सम्झिएको भए नदिनुपर्ने हो नि, तर उहाँले मसमेतलाई ‘तिमीहरु बाँडेर लेऊ’ भन्नुभयो । र, हामीले प्रसादको रुपमा ग्रहण गर्यौं । 

त्यसकारणले पनि सानै उमेरमा आमा गुमाएँ, त्यो हिसाबले म सानैमा टुहुरो पनि भएँ । तर, त्यही समयमा मैले अर्को आमा पनि पाइहालेँ, त्यो हिसाबले म भाग्यमानी छोरा पनि हुँ ।

दुईतिरको आमाबाट गरी हामी ४ दाजुभाई र २ दिदीबहिनी हौं । 

आमाको सम्झना
यशोदा आमाको खास नाम बुद्धिमाया हो । उहाँ धेरै बोल्नु हुँदैन थियो । एकदमै कम बोल्नुहुन्थ्यो, तर नबोलेरै धेरै कुरा व्यक्त गर्नुहुन्थ्यो । 

उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो, बेला–बेला अस्पताल लगिरहनुपथ्र्यो र मैले अन्तिम पटक आमालाई भेटेको त्यही बेला हो। त्यसपछि आमा बित्नुभयो । आमा पोखरास्थित घरमै बित्नुभयो, त्यसबेला बुबा काठमाण्डौमा हुनुहुन्थ्यो ।

त्यसअघि बिरामी भएर आमालाई अस्पताल भर्ना गरिएको थियो । म आमालाई भेट्न गएको थिएँ । अस्पतालमा भेट्दा आमाले के सम्झिनुभयो थाहा छैन, मलाई अँगालो हालेर रुनु भयो । म पनि रोएँ, हामी आमाछोरा बेस्सरी रोयौं । 

सो बेला मैले आमाको उपचार, हेरचाहमा अर्को आमा कहिल्यै सोचिँन । त्यसपछि उहाँ ठीक हुनुभयो ।

त्यसको केही समयपछि मेरो पाइल्स र पेटको हर्नियाको अप्रेसन भएको थियो । मैले पोखरामा भनेको थिइँन, तर कसैले घरमा मेरो अपरेशनको कुरा भनिदिएछन् । अप्रेसन भएको पनि ३–४ महिना जति भएको थियो। बुबाआमाको मन न हो, बुवा त काठमाण्डौ नै आइपुग्नु भएछ ! आएर ५–७ दिन बस्नुभयो। भोलिपल्ट १२ बजेको फ्लाइट थियो, बिहानै आमा स्वर्गारोहण भएको खबर आयो ।

जन्म दिने आमा
म भारतको बम्बईमा जन्मिएको हुँ रे । मेरो बुबाले १८ वर्ष त्यहाँ काम गर्नुभएको हो । मलाई जन्म दिने आमाको उपचार पनि बम्बईमै भएको हो । आमा त्यही बित्नुभयो र उतै सद्गति गरेर बुबा मात्रै नेपाल आउनुभएको थियो। 

जन्म दिनुभएको आमाको धेरै कुरा मलाई याद छैन । तर, उहाँलाई फिल्म हेर्न चाहि निकै मन पथ्र्यो । पछि अरुले भनेको आधारमा उहाँ मिठो खानमा सौखिन हुनुहुन्थ्यो रे भनेको पनि सुनेको थिएँ । 

मलाई जन्म दिने आमा बितेपछि म धेरै लामो समय मामली घरमा बसेँ । मेरा ५ जना मामा हुनुहुन्थ्यो । मामाको हजूरआमाकोमा म लामो समयसम्म बसेँ । एसएलसी पास पनि मामाकोमा बसेरै गरेको हुँ । त्यसपछि आइकम पढ्दा मात्रै म आफ्नो घरमा बसेँ । 

त्यसपछि म काठमाण्डौ आएँ । त्यसपछिका दिनहरुमा घर जाने आउने गर्दा आमाले मलाई निकै चिज गर्नुहुन्थ्यो । मलाई मन पर्ने खानेकुरा बनाइदिनु हुन्थ्यो । म चिया खान निकै सौखिन थिएँ, चिया दिनुहुन्थ्यो । म घर गएपछि अरुसाथीभाई पनि आउँथे, त्यहाँ चियाको जमघट नै हुन्थ्यो । झर्को नमानी सबैलाई चिया खुवाउनुहुन्थ्यो । 

आमाबाट सिकेको पाठ
मैले मामाको हजूरआमाबाट धेरै शिक्षा पाएँ । मलाई उहाँले सधैं ‘ठूलो मान्छे होइन, असल भएस्’ भनेर आशिर्वाद दिनुहुन्थ्यो । अरुले ‘ठूलो हुनु’ भन्थे, तर मेरी हजुरआमाले किन ‘असल मात्र भएस्’ भन्नुहुन्छ भनेर मेरो त्यसबेला मन कुँडिन्थ्यो पनि, तर पछि गएर बुझेँ कि ठूलो मान्छे बन्न जति सजिलो रहेछ, असल बन्न निकै गाह्रो रहेछ । 

तर, मेरी दोश्रो आमाले मेरा छोरा यस्ता होउन् भनेर कसैलाई भन्नुभएन । न मलाई, न त भाईहरुलाई नै । उहाँले धेरै महत्वकांक्षा समेत राख्नु हुन्थेन । 
आमाको माया दिनुहुने हजुरआमाबाट ‘असल हुनुपर्छ’ भन्ने कुरा सिक्ने अवसर पाएँ । यशोदा आमा धेरै महत्वकांक्षा राख्नुहुन्थेन । कर्म चाहि गर्ने हो, आफ्नो काम छाड्नु हँुदैन, तर ठूलो चाहना राख्नु हुँदैन भन्नुहुन्थ्यो । 

धेरै ठूलो कुरा अपेक्षा गरियो, तर त्यो पूरा भएन भने तपाई दुःखी हुने हो । तपाई धेरै ठूलो कुरा चाहनुहुन्न भने दुःखी हुने चान्स कम हुन्छ । 

मेरो आमा धेरै बोल्नु हुन्थेन, तर नबोलेरै धेरै कुरा बताउनु हुन्थ्यो। मलाई आमाले नबोली व्यक्त गरेको शिक्षा नै ‘कर्म चाहि गर्दै जानू, धेरै ठूलो कुरा नचाहनु’ भन्ने नै थियो ।

खुशी पल
आमाहरु सन्तानका साना साना कुरामा पनि खुशी हुन्छन्। म मामलामा भएको बेलामा एसएलसी उत्तीर्ण हुँदा मेरो हजूरआमा र घरमा समेत सबै खुशी हुनुभएको थियो । 

तर,म यहाँसम्म आउनुमा मेरो बुबालाई श्रेय दिन्छु। किनभने म एसएलसी पास गरेपछि मेरो मामलाको हजूरबुबाले जागिर खान भन्नु भएको थियो । उहाँ रिजर्ब बैंक अफ इण्डियामा काम गर्नुहुन्थ्यो। मेरो हजूरबुबाले नेपाल राष्ट्रबैंकका टेकनाथ बराललाई चिन्नुभएको रहेछ । पोखराको एयरपोर्ट बनिरहेको ठाउँमा मामलाको जग्गा थियो, त्यसको मुआब्जा बुझ्न हजूरबुबा काठमाण्डौ आउनुभएको बेला टेकनाथसँग उहाँको भेट भएछ र ‘मेरो नातिलाई जागिर खुवाउनुपर्छ’ भन्नुभएछ । मलाई घर आएर ‘तैले अब राष्ट्रबैंकमा नोकरी गर्नुपर्छ’ भन्नुभयो। अहिले त राष्ट्रबैंकको नोकरी भनेपछि मान्छेहरु हुरुक्कै गर्छन, त्यसबेला मेरा लागि ठूलै अफर थियो त्यो । म मामलाको हजूरबुबाको कुरा पटक्कै काट्दिन थिएँ । तर, यही बेला मेरो एकदिन बुबासँग भेट भयो । ‘एसएलसी पास भएँ, हजूरबुबाले नोकरी गर भन्नु भएको छ, मलाई नोकरी खाने मन छैन, मलाई पढ्नै मन लागेको थियो’भनेर बुबालाई भनेँ ।

मेरो बुबा १८ वर्ष बम्बईमा बसेर काम गरेको मान्छे हुनुहुन्थ्यो, उहाँलाई शिक्षाको महत्व थाहा थियो। उहाँले मलाई ‘पढ्न चाहन्छस् भने पढ न त, अहिलेसम्म मावलीमै बसेर पढिस्, अब म तँलाई पढाउँछु’ भनेर ढाडस दिनुभयो। 

बुबाको त्यो कुराले ममा हिम्मत आयो । त्यही हिम्मतले हजूरबुबासँग ‘नोकरी खाँन्न, बरु पढ्छु’ भनेँ । हजूरबुबाले मेरो आज सातो काड्नुहुन्छ जस्तो लागेको थियो, तर फेरि हजूरबुबा पनि पढाईको महत्व बुझेको मान्छे हुनुहुन्थ्यो, त्यसपछि उहाँले पनि ‘पढ’ भन्नुभएको थियो। 

त्यतिबेलै मैले नोकरीमा लागेको भए सानो लेभलको कुनै मुखिया, खरदारको जागिर खाई अहिले म रिटायर्ड भएर कुनै कुनामा हुन्थेँ होला जस्तो लाग्छ । 
त्यसकारण पनि म यहाँसम्म आउनेमा यसको जस मेरो स्वर्गीय बुबालाई नै दिन्छु । 

आमा र समाज
हामीमा नैतिक शिक्षाकै कमीका कारण छोराछोरीका लागि आमाबुबाको महत्व, आमाबुबाप्रतिको आदर कम हुँदै जाने अवस्था बनिरहेको देख्छु, यो नराम्रो कुरा हो । 

तर, हरेक मान्छे जब आफू आमाबुबा बन्छ, अनि मात्र उसले फिल गर्छ अभिभावकको महत्व ।  मलाई लाग्छ, कतिपय छोराछोरीहरुले आफू आमाबुबा भइसकेपछि मात्र आमाबुबाको महत्व बुझ्लान्, अनुभूत गर्लान । 

केही मान्छेले बुबाआमालाई साह्रै हेला पनि गरेका छन् । नचाहदा नचाहदै पनि वृद्धाआश्रममा लगेर फालिदिएका होलान्, मर्दा पर्दा समेत वास्ता नगर्ने पनि होलान् । तर यस्तो केश धेरै छ जस्तो लाग्दैन। 

(कुराकानीमा आधारित)