काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको बताएका छन्। 

लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’, उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुरा सेयर बजारमार्फत झल्किन्छ।’ 

सेयर बजार पुँजी निर्माणको आधार रहेको पनि गभर्नर अधिकारीको भनाइ छ। ‘अर्थतन्त्रका सूचक हेर्दा सेयर बजारलाई समेत हेर्ने गरिन्छ’, उनले भने। 

यो साताबाट तरलता केही सहज बनेकोको पनि गभर्नर अधिकारीले बताए। अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको र यसको मुख्य कारण बढ्दो आयात नै रहेको उनको भनाइ छ। 

वित्तीय प्रणालीको स्थिरताका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको पनि अधिकारीले स्पष्ट पारे। ‘समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो’, उनले भने, ‘वित्तीय प्रणालीको स्थिरताका लागि हस्तक्षेप आवश्यक छ।’