काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पनि अन्य वाणिज्य बैंकले झै नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । 

यो बैंकको नोभेम्बर १० मा बसेको संचालक समितिको ३७६औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १७.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश करसहितको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले यसअघि सतप्रतिशत बोनस सेयर वितरण गरेको थियो भने अघिल्लो वर्ष ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब १ करोड रहेको छ । 

बैंकले आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको थियो । यो बैंकको दोश्रो बजारमा प्रतिकित्ता सेयरको अन्तिम बिक्री मूल्य ६९० रुपैयाँ रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो पटक घोषणा गरेको लाभांश ५ वर्षयताकै कम हो । गत वर्ष सतप्रतिशत बोनस सेयर दिएको यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३३.३३ प्रतिशत बोनस सेयर, आब २०७१/७२ मा २५ प्रतिशत बोनस सेयर र १९.२१ प्रतिशत नगद लाभांश, आब २०७०/७१ मा १० प्रतिशत बोनस सेयर र ४१.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

बैंकले यसअघिका हरेक वर्ष बोनस सेयर पनि दिने गरेको थियो । तर, यो पटक मात्र नगद लाभांश दिने प्रस्ताव गरेको हो ।