काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकले गत वर्ष माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरेको थियो। इजाजतपत्र प्राप्त गरेलगत्तै बैंकले गत वर्ष फागुन २२ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुुभारम्भ गरेको थियो।

बैंकले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको हो। उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव श्री गणेश भक्त श्रेष्ठलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। 

बैैंकको हाल अधिकृत पूँजी रु. ४० अर्ब, जारी पूँजी रु. २० अर्ब र चुक्ता पूँजी रु. १२ अर्ब रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात चुक्ता पूँजी रु. २० अर्ब पुग्नेछ। 

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ।