काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी र उनका परिवारले जग्गाजमीनमा निकै ठूलो लगानी गरेको देखिएको छ ।
धनाढ्यहरुका लागि रियलस्टेट लगानीको आकर्षणको केन्द्र बन्दै आएको छ । गभर्नर अधिकारीले समेत आफ्नो धेरैजसो लगानी जग्गाजमीनमै गरेका उनले मंगलबार सार्वजनिक गरेका सम्पत्ति विवरणमा देखिएको हो ।
साबिकको सैंबु गाविसमा अधिकारीसँग २७ आना ३ पैसा २ दाम जग्गा छ। उनले विराटनगरको घरजग्जा बिक्री, सापटी र बचतबाट सो जग्गा किनेको विवरण भरेका छन् । यसको लागत मूल्य १७ लाख रुपैयाँ हो।
यस्तै, ललितपुरको छप्पीमा पनि अधिकारीसँग जग्गा छ। एउटा कित्ता ४ रोपनी १० आनाको छ भने अर्को २ रोपनी १५ आनाको छ।
यसैगरी, अर्को एउटा जग्गा २ रोपनी ६ आनाको छ। यसको लागत मूल्य ९० लाख ९७ हजार रुपैयाँ छ।
हेटौंडामा पनि उनले जग्गा किनेका देखिएको छ ।
झापाको सुरुङ्गामा पनि जग्गा जमिन छ। यसबाहेक देशका अन्य विभिन्न क्षेत्रमा २२ सय वर्गफिट जग्गा पनि रहेको छ । अधिकारीले सञ्चयकोष सापटी, बैंक ऋण र बचतबाट यी सम्पत्तिहरु जोडेको बताएका छन् । अधिकांश जग्गाजमीन पत्नी सरिता अधिकारी पोखरेलको नाममा देखिएको छ।
अधिकारीसँग २७ तोला सुनका गहना छन् भने ५० तोला चाँदीका गहना छन्। १८ हजार नगद घरमा छ। उनले सुनचाँदी पैतृक, विवाह र खरिदबाट आर्जन गरेको जनाएका छन्।
नवनियुक्त अधिकारी तथा उनको परिवारले सेयरलाई समेत प्राथमिकतामा राखेर लगानी गरेको देखिएको छ ।
अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ११ सय कित्ता सेयर छ। यसको कुल मूल्याङ्कन ४५ हजार २०० रुपैयाँ हो।
अधिकारीले नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको पनि सेयर किनेका छन्। उनीसँग यी कम्पनीको २७ हजार १८४ कित्ता सेयर छ। यसको मूल्याङ्कन ४८ लाख ३७ हजार ३९० रुपैयाँ हुने उनले उल्लेख गरेका छन्। यो लागत मूल्य हो। बजार मूल्य जोड्दा सेयरबाट मात्रै अधिकारीले लाखौं जोडेका देखिन्छ ।
अधिकारीले नबिल ब्यालेन्स फण्ड २ मा १८ लाख लगानी गरेका छन् भने चिलिमे, एचआइडीसिएल, सानिमा माइ, अपर तामाकोशीको २७ हजार ९२९ कित्ता सेयर किनेका छन्। यी सेयर उनले दोस्रो बजारबाट उठाएका हुन्। यसको लागत मूल्य ४० लाख १७ हजार ५०० रुपैयाँ हुन्छ।
जग्गा जमीन र सेयरमा लगानी बाहेक अधिकारीको बैंक खातामा नेपाली र विदेशी मुद्रा दुवैमा निक्षेप समेत रहेको छ । उनी र परिवारको नाममा माछापुच्छ्रे बैंकमा एक लाख ६३ हजार ७६२ रुपैयाँ नगद छ भने नबिलमा २ हजार ३०२ अमेरिकी डलर छ। उनको नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६०० रुपैयाँ छ।
उनीसँग दुई वटा मोटरसाइकल र एउटा टोयोटा कार छ। उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६०० रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन्। १८ हजारको क्रेडिट कार्ड ऋण पनि छ। दिएको कुल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य(तमोरको सेयरमा हालेको पैसा हो। उनी संस्थापक सेयरधनी भएकाले ’सेयर एडभान्स’ मा पैसा हालेका हुन्।
१४ लाख १० हजार रुपैयाँको टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड, सोफा सेट रहेको उनको विवरणमा उल्लेख छ।
गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी ब्यवस्थाअनुसार मंगलरबार अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19