काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजोको आजै हकप्रद निष्कासनको अजेन्डा गायब भएको छ।

संस्थाले हिजो आइतबार दोस्रो वार्षिक साधारणसभाबाट सूचना प्रकाशित गर्दा विशेष प्रस्तावहरुको दोस्रो बुँदामा १ः१ अनुपात (सतप्रतिशत) हकप्रद सेयर निष्कासनको अजेन्डा राखेको थियो। तर संस्थाले आज संशोधित सूचना प्रकाशित गरेर हकप्रद सेयर निष्कासनको अजेन्डा हटाएको छ। 

हकप्रद निष्कासन हुने सूचना प्रकाशित भएपछि यो संस्थाको सेयरमूल्यमा हिजो आइतबार १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको थियो। अर्थात् एकैदिन यो लघुवित्तको सेयरमूल्य १५७ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ कायम भएको छ। 

कम्पनीले एकाएक वार्षिक साधारणसभाको विशेष प्रस्तावबाट हकप्रदको अजेन्डा हटाएसँगै सोही आशामा हिजो महँगोमा मूल्य यो संस्थाको सेयर किन्नेहरु मर्कामा पर्ने देखिएको छ। मूल्यमा चलखेल गर्नकै लागि यो संस्थाले हकप्रदको अजेन्डा राखेको हुन सक्ने र यस्ता कम्पनीलाई नियामक निकाले हदैसम्मको कारबाही गर्नुपर्ने लगानीकर्ताहरु बताउँछन्।

किसान लघुवित्तका कम्पनी सचिव देवेन्द्रबहादुर शाह पुँजीवृद्धिका लागि अहिलेको वार्षिक साधारणसभाबाट हकप्रदको अजेन्डा पारित गरेर पछि निष्कासन गर्ने हिसाबले राखे पनि राष्ट्र बैंकको नीतिका कारण हटाउनुपरेको बताए। ‘हामीबाट गल्ती भएकै हो, हामी आमलगानीकर्तासँग यस विषयमा माफी माग्छौँ’, उनले भने।

शाहले यद्यपि पुँजीवृद्धिका लागि छिटै एफपीओ भने जारी गरिने जानकारी दिए। ‘हामी झन्डै १३ लाख कित्ता एफपीओ जारी गर्ने तयारी गरिरहेका छौँ’, उनले भने। 

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको लम्कीचुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११ बजेबाट सुरु हु्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक, आर्थिकजस्ता महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।