काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै जाँदा विश्व अर्थतन्त्र प्रभावित बन्ने निश्चित भएको छ। 

युक्रेनमा गत एक सातादेखि भइरहेको युद्धले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याइदिएको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारण रुसको अर्थतन्त्र पनि प्रभावित बन्ने भएको हो। जसका कारण इन्धनदेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ।  

रुस–युक्रेन युद्धको प्रभाव निम्न क्षेत्रहरुमा पर्ने देखिन्छ– 

इन्धन 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२५ डलरसम्म पुग्ने अनुमान गरिएको छ। मागअनुरुप आपूर्ति हुन नसक्दा र युद्धको भय कायम रहिरहेका कारण तेलको मूल्य अल्पकालमा प्रतिब्यारेल १२५ डलरसम्म पुग्ने अनुमान गरिएको हो। 

अन्तर्राष्ट्रिय बजारमा गत बिहीबार कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो। बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६.५७ डलरमा कारोबार भएको थियो। 

यतिबेला रुसको मुद्रा तथा वित्तीय सम्पत्तिहरु प्रभावित बनेका छन्। जसका कारण ऊर्जा र खाद्यानको मूल्य आकाशिएको छ। 

विश्व बैंकका अनुुसार रुस विश्वको ११ औँ ठूलो अर्थतन्त्र हो। रुससँग तेल र ग्यासको ठूलो भण्डार रहेको छ। त्यसैले रुसको आपूर्तिमा बाधा आउने भयका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर वृद्धि भइरहेको छ। 

युक्रेनमा युद्ध सुरु भएयता कच्चा तेलको मूल्यमा २० प्रतिशतको उछाल आएको छ। युरोपमा प्राकृतिक ग्यासको मूल्य रेकर्डस्तरमा  पुगेको छ। यसको मूल्य गत शुक्रबारको तुलनामा दुई गुणाले वृद्धि भएको छ। कच्चा तेलको मूल्य आएको बढोत्तरीका कारण विश्वभर पेट्रोल–डिजेलको मूल्यमा भारी वृद्धि भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले भारतमा पनि कच्चा तेलको मूल्य प्रतिलिटर १५–२२ रुपैयाँ वृद्धिले हुने भारतीय मिडियाहरुले जनाएका छन्। नेपालमा पनि भारतबाट तेल आयात हुने हुदा भारतमा हुने मूल्यवृद्धिले नेपालमा पनि तेलको मूल्य प्रभावित बन्ने देखिन्छ। 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। 

तेलको मूल्यमा भएको वृद्धिको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ। मूल्य वृद्धिभएपछि यातायात व्यवसायीले सरकारसँग भाडादर बढाउन माग गरेका छन्। आफ्नो माग अस्वीकार गरे आफूखुसी भाडा बढाउने उनीहरुले चेतावनी दिएका छन्। यसको परिणामस्वरुप महँगी बढ्नेछ। यात्रा गर्न र खाद्य वस्तुको मूल्य बढ्नेछ। 

खाद्यान्न

रुस–युक्रेन युद्धका कारण विश्व आपूर्ति शृंखलामा दबाब सिर्जना भएको छ। विश्वको कुल गहुँ उत्पादनमा रुस र युक्रेनको १४ प्रतिशत हिस्सा रहेको छ। विश्वभरको गहुँ निर्यातमा यी दुवै देशको २९ प्रतिशत हिस्सेदारी रहेको छ। जसका कारण विश्वभर गहुँको मूल्य वृद्धि हुनेछ। बियर जौबाट बन्ने गर्दछ र युक्रेन जौ उत्पादन गर्ने विश्वको पाचौँ शीर्ष देशमा समावेश छ। युक्रेनमा जारी युद्धका कारण अन्तराष्ट्रिय बजारमा जौँको आपूर्ति प्रभावित बन्ने देखिन्छ। जसका कारण बियरको मूल्य बढ्ने निश्चितप्रायः छ। 

यस्तै रुस विश्वको सबैभन्दा ठूलो गुहँ उत्पादक देश हो भने युक्रेन मकैको तेस्रो ठूलो निर्यातकर्ता देश हो। युद्धका कारण आपूर्तिमा समस्या आउदा गुहँ, जौ र मकैबाट उत्पादन हुने वस्तुहरुको मूल्यवृद्धि देखिन्छ। जसका कारण विश्वभरका उपभोक्ता मारमा पर्नेछन्।

खाने तेल

युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण खाद्य तेलको मूल्य पनि बढ्न थालेको छ। एक सातामा अन्तराष्ट्रिय बजारमा खाद्य तेलको मूल्य प्रतिलिटर ३२ रुपैयाँले वृद्धि भइसकेको छ। 

युक्रेन सूर्यमुखी तेलको प्रमुख उत्पादक देश हो। रुस–युक्रेन युद्धका कारण भारतमा सोयाबिनको तेलको मूल्य प्रतिलिटर १६० देखि १७० भारुसम्म वृद्धि भएको छ। त्यस्तै सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २०० भारु पुगेको छ। खाद्य तेलका लागि नेपाल भारतमा निर्भर भएका कारण भारतीय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपालमा समेत पर्ने देखिन्छ। 

सूर्यमुखी तेलको आपूर्ति ब्ल्याक सीमा फसेका कारण पाम तेलको मूल्यमा पनि उछाल आएको छ। कच्चा पाम तेलको मूल्य प्रतिटन २ हजार डलरमाथि पुगेको छ। 

विद्युतीय सामग्री तथा सवारीसाधन

मार्केट रिसर्च गुप्र टेकीको रिपोर्टका अनुसार विश्वको चिप उद्योग सीफोरएफसिक्स, नियोन र प्यालेडियमका लागि धेरै हदसम्म रुस र युक्रेनमा निर्भर छ। यी सामग्रीको उपयोग सेमिकन्डक्टर बनाउनका लागि हुन्छ। उदाहरणका लागि अमेरिकाको सेमिकन्डक्टर उद्योगमा प्रयोग हुने ९० प्रतिशत निर्यात युक्रेनबाट आउने गर्छ। रुस प्यालेडियम निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो आपूर्तिकता हो। विश्व पहिलेदेखि नै सेमिकन्डक्टरको अभावसँग जुधिरहेको छ। 

रुस र युक्रेनबीचको युद्धका कारण विश्वमा सेमीकन्डक्टरको अभाव अझै चुलिने देखिन्छ। सेमीकन्डक्टरको प्रयोग अटो तथा इलेक्ट्रिोनिक्ससहित अन्य कयौँ उद्योगमा हुने गर्छ। 

रासायनिक मल

विश्वभरको कुल उत्पादनको एक तिहाई अमोनियम नाइट्रेटको उत्पादन रुसमा हुन्छ। रुस अमोनियम नाइट्रेट निर्यात गर्ने विश्वको शीर्ष देश हो। यसको आपूर्ति अवरोध हुँदा विश्वभर बालीनालीको उत्पादन महँगो हुनेछ। जसका कारण खाद्यान्नको मूल्यवृद्धि हुने आशंका गरिएको छ। अमेरिकामा खाद्यान्न ६ प्रतिशत बढी महँगो भएको छ। नेपालमा अधिकांश रासायनिक मल भारतबाट आउने गर्छ। भारतले पनि युक्रेनबाट ठूलो परिणाममा रासायनिक मल आयात गर्ने गर्छ। रासायनिक मलको आपूर्तीमा अवरोध हुँदा नेपालमा समेत यसको प्रभाव पर्ने देख्न्छि। यतिमात्रै नभई रासायिनक मल उत्पादन गर्ने अधिकांश उद्योगहरु कोइलाको साटो ग्यासमा सिफ्ट भएका छन्। ग्यासको अधिकांश आपूर्ति युक्रेन र रुसबाट हुने गर्दछ। जसका कारण मलको उत्पादन प्रभावित बन्ने देखिन्छ। 

धातु

रुससँग करीब विश्वको १० प्रतिशत तामाको भण्डार छ। यसका साथै रुससँग एल्युमिनियम र निकेलको ६ प्रतिशत भण्डार मौजुद छ। एल्युमिनियमको प्रयोग कार उत्पादन गर्न हुने गर्छ। त्यस्तै निकेलको प्रयोग इलेक्ट्रिक कार ब्याट्रीमा हुने गर्छ। बितेको एक दशकमा यी दुवै धातुको मूल्य उच्च बिन्दुमा पुगेको छ। 

यसैगरी रुस प्लेटिनयम उत्पादन गर्ने विश्वको दोस्रो ठूलो देश हो। प्लेटेनियमको प्रयोग विभिन्न उद्योगहरुमा हुने गर्छ। विश्वका कयौँ देश यी धातुहरुमा रुससँग परनिर्भर छन्। युद्धका कारण आपूर्तिमा अवरोध आउने भएकाले यी धातुहरुको मूल्यवृद्धि हुनेछ। जसका कारण विश्वभरका उद्योगहरु प्रभावित बन्नेछन्। 

चौतर्फी महँगी 

कच्चा तेलको मूल्यवृद्धि भएपछि सिमेन्ट, एअरलाइन्स, पेन्ट उत्पादक कम्पनीहरु तथा अटो सेक्टर प्रभावित बन्नेछन्। सिमेन्ट कम्पनीहरुको कुल सञ्चालन खर्चमा इन्धन खर्चको हिस्सा २५ देखि ३० प्रतिशत रहेको छ। 

यस्तै हवाई इन्धन महँगो हुँदा हवाई कम्पनीहरुसमेत प्रभावित बन्नेछन्। पेन्ट कम्पनीहरुमा कच्चा तेलको व्यापक प्रयोग हुन्छ। यस्तै प्याकेजिङ तथा यातायात महँगो हुँदा एफएमजीसी (फास्ट मुभिङ गुड्स कम्पनी) कम्पनीहरुको लागत बढ्नेछ। 

तेल महँगो हुँदा अटो सेक्टर पनि प्रभावित बन्नेछ। अर्थात तेलको मूल्यवृद्धि हुँदा चौतर्फी महँगी बढ्ने देखिन्छ। – एजेन्सीको सहयोगमा