काठमाण्डौ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आइतबार काठमाण्डौमा सम्पन्न छुट्टा छुट्टै विशेष साधारणसभाले एकआपसमा गाभ्ने गाभिने प्रतिवेदन पारित गरेको छ । 

दुवै बैंकको विशेष साधारणसभाले एकआपसमा १ बराबर १ को सेयर स्वाप कायम हुने गरी गाभ्ने गाभिने प्रस्ताव पारित गरेको हो । 

योसँगै यी दुई वाणिज्य बैंक एक भई अगाडि बढ्ने तथा एकीकृत कारोबारको पूर्व तयारी गर्ने बाटो खुलेको छ । 

एनसीसी बैंकले आफ्नो विशेष साधारणसभा काठमाण्डौको शंखमूलस्थित अनमोल व्याङ्क्वेटमा आह्वान गरेको थियो । 

बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न विशेष साधारणसभाले कुमारीसँग एकआपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ । एक आपसमागाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । 

उता, कुमारी बैंकको विशेष साधारणसभा पनि आजै काठमाण्डौको नक्सालमा सम्पन्न भयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताव ज.ब. राणाको अध्यक्षतामा सम्पन्न सभाले पनि विशेष प्रस्ताबको रुपमा पेश गरिएको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रियाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न संचालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने, १ः१ को सेयर स्वाप अनुपातमा गाभिने विषय स्वीकृत गर्ने, एक आपसमा गाभिएपछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रवन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा संचालक संख्या ७ जना हुने गरी र नियम २९ मा संचालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ । 

कुमारी  र एनसीसी बैंक लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्ज) सम्पन्न भएपश्चात चुक्तापूँजी रु.२६ अर्बभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप ३ खर्ब १ अर्ब भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।