काठमाण्डौ । उद्योगी-व्यवसायीले राष्ट्रबैंकले कर्जाको ब्याजदर घटाउन सहयोग गर्नुपर्ने माग बारम्बार राख्दै आएका छन् । यस्ता माग सुनेपछि राष्ट्रबैंकका अधिकारीहरुले भन्ने गर्छन्–ब्याजदर बजारले निर्धारण गर्ने हो, हामीले हस्तक्षेप गर्न मिल्दैन । ब्याजदरको विषयमा राष्ट्रबैंकका अधिकारीहरुको बोली र व्यवहार भने फरक पर्ने गर्छ । यो वा त्यो नाममा, खुलेर वा गोप्य रुपमा राष्ट्रबैंकले ब्याजदरको विषयमा सधैं हस्तक्षेप गर्छ । पछिल्लोपटक बिहीबार बैंकहरुले फागुनका लागि निक्षेपको ब्याजदर माघकैलाई निरन्तरता दिने निर्णय गरेका छन् । यो निर्णयमा समेत राष्ट्रबैंकको हस्तक्षेपकारी नीतिले काम गरेको खुलेको छ । 

नेपाल बैंकर्स संघ(एनबीए)का एक सदस्यकाअनुसार अघिल्लो पटकहरुमा जस्तै यो पटक पनि राष्ट्रबैंकको निर्देशनअनुसार नै माघकै ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिने निर्णय भएको हो ।

‘राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गर्दैन भन्ने कुरा गलत हो । अर्थतन्त्र सम्वेदनशील अवस्थामा रहेको बेला प्रत्येक पटकको निर्णयमा उसको निर्देशनले काम गर्छ । यसपटक पनि त्यही भयो ।’ ती बैंकरले भने–‘राष्ट्रबैंकले यसपटक पनि निक्षेपको ब्याजदर नघटोस् भन्ने चाहना राखेको थियो । नियामकले राखेको चाहनालाई क्रस गर्ने हिम्मत बैंकरहरुमा हुने कुरै भएन । राष्ट्रबैंकले जो चाह्यो, बिहीबार सोहीअनुसारको निर्णय भयो ।’

त्यसो त एनबीएकै केही सदस्यहरुले बिजशालासँग बुधबार नै राष्ट्रबैंकको चाहना ब्याज थप नघटोस् भन्ने रहेको र सोहीअनुसार निर्णय हुने दाबी गरेका थिए । अन्ततः भयो पनि त्यस्तै । राष्ट्रबैंकको चाहना(निर्देशन) शिरोधार्य गर्दै एनबीएले फागुनमा ब्याजदर नघटाउने निर्णय गर्यो । 

थप लोन नजाओस् भन्ने राष्ट्रबैंकको चाहना
बैंकिङ प्रणालीमा थुप्रिएको तरलताको अवस्था हेर्दा बैंकहरुले निक्षेप थप थुपार्ने गरी चर्को ब्याजदर निर्धारण गरिराख्नुपर्ने आवश्यकता नै थिएन । स्वयम् राष्ट्रबैंकले अधिक तरलता भएको भन्दै प्रणालीबाट ५ अर्ब प्रशोचन गर्न केही दिनअघि रिभर्स रिपो नै जारी गरेको अवस्था थियो । यस्ता परिदृश्यकै कारण बैंकहरुको सीडी रेसियो ८६.२३ प्रतिशतमा सीमित भइसकेको छ । अन्तरबैंक ब्याजदर निरन्तर घट्दै ४.१० प्रतिशतमा आइसकेको छ । २८ दिने अवधिको(अल्पकालीन) ब्याजदर पनि घटेर ५.९० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

यी सबै अवस्थाको अर्थ थियो ः बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । थप निक्षेप तान्ने गरी ब्याजदर कसेर राख्नुपर्ने आवश्यकता छैन । तर, बैंकहरुले भने यसभन्दा फरक निर्णय गरे, अर्थात फागुनमा पनि निक्षेप प्रोत्साहन हुने गरी माघकै रेटहरुलाई निरन्तरता दिने निर्णय गरे । किन यस्तो भयो त ?

एक बैंकर तथा विश्लेषकको भनाईमा राष्ट्रबैंक पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा बढेको खराब कर्जाको अनुपातलाई लिएर सचेत देखिएको छ । यसअघि नै प्रवाह भएको कर्जामध्ये एकपछि अर्को खराब क्याटेगोरीमा परेका छन् । यो क्रम अझै बढ्ने देखिन्छ । 

आर्थिक गतिविधि ठप्पप्राय छ । उत्पादनका क्षेत्रहरुमा रौनक फर्किन सकेको छैन । हरेक उत्पादनहरुको बिक्रीमा अत्यासलाग्दो गिरावट आएको छ । जसको प्रभावले ऋणिहरुले किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको छ । किस्ता तिर्नसक्ने क्षमता भएकोले पनि निजी क्षेत्रका कतिपय संस्थाहरुको लहै लहैमा लागेर बैंकरलाई थर्काउँदै ऋण तिर्न आनाकानी गर्दा पूरा प्रणाली जोखिममा पर्दै गएको छ । 

यो अवस्थामा एकातिर लोन जानसक्ने परिस्थिति छैन भने महङ्गो दरमै लोन दिँदा पनि फेरि खराब कर्जाको अनुपात अझै बढ्ने जोखिम छ । यहीकारण राष्ट्रबैंकले बैंकरहरुलाई तत्काल क्रेडिटमा जोड नगर्न भनिरहेको छ । निक्षेपको ब्याजदर निरन्तर घट्दै गयो भने त्यसले बैंकहरुको बेसरेट घटाउने र कर्जाको ब्याजदर पनि सस्तिने हुन्छ । कर्जाको ब्याजदर सस्तियो भने लोनको डिमाण्ड ह्वात्तै बढ्छ । आर्थिक गतिविधि चलायमान नभइसकेको अवस्थामा राष्ट्रबैंक पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको विश्लेषकहरु बताउँछन् । यसकारण पनि तत्काल थप लोन नजाओस् भन्ने उद्देश्यले राष्ट्रबैंकले एनबीएका अधिकारीहरुलाई ब्याजदर नबढाउन भनेको थियो । त्यसलाई नै पछ्याउँदै एनबीएले पनि फागुनका लागि माघकै रेटहरुलाई निरन्तरता दिने निर्णय गरेको हो । 

अर्का एक सिनियर बैंकर पनि राष्ट्रबैंकले कर्जाको माग नबढोस् भन्ने चाहिरहेको स्वीकार गर्छन् । ‘नयाँ कर्जा जाँदा पनि बढीभन्दा बढी उत्पादनशील क्षेत्रमा मात्र जाओस् भन्ने केन्द्रीय बैंकको चाहना देखिन्छ ।’ ती बैंकरले बिजशालासँग भने–‘यसकारण पनि निक्षेपको ब्याजदर तत्काल घट्ने परिस्थिति नबनेको हुनसक्छ ।’ 

उनको बुझाईमा नयाँ कर्जा प्रवाह न्यून रहेको र बढी अनुरोध अन्य बैंकको कर्जा स्वापमा मात्र आएकोले निक्षेप बढेको देखिएको हो । ‘खासमा भन्ने हो भने कर्जा नगएर निक्षेप बढेको हो, नयाँ निक्षेप नै बढेर अवस्था सहज भएको होइन ।’ ती बैंकरले भने–‘यसले समेत ब्याजदर थप नघटाउने अवस्था बनेको हुनुपर्छ ।’ 

उनले पछिल्लो समय बैंकरहरुले निकै चनाखो भएर काम गरिरहेका बताए । ‘अहिले अरु बैंकमा बिग्रिएका वा चेपुवामा परेका ऋणिहरु त्यहाँको कर्जा स्वाप गरिदिने अनुरोध गर्दै अर्को बैंकमा पुगिरहेका छन् । नयाँ कर्जाको माग बढिसकेको अवस्था हुँदै होइन ।’ उनले भने–‘यस्तो बेलामा कर्जाको स्वापमै जाँदा पनि हामी चनाखो हुनुपर्ने अवस्था छ । अरु बैंकमा समस्यामा परेका कर्जा पो आइहाल्छ कि भनेर सोचिएन भने डूबाइदिन्छन् ।’ 

उनले एनबीएले माघको ब्याजदरलाई फागुनमा पनि यथावत राख्ने निर्णय गर्नु पछाडिको अर्को कारण राष्ट्रबैंकले भोलि(शुक्रबार) सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि हो । ‘ब्याजदर र समग्र बजारलाई दिशानिर्देश हुने गरी राष्ट्रबैंकले भोलि केही नीति ल्याइहाल्छ कि भन्ने पनि हाम्रो अपेक्षा हो ।’–उनले थपे ।