काठमाण्डौ । बैंक ब्याजदर चर्को भयो भनेर उद्योगी–व्यवसायीले फेरि आन्दोलन चर्काएका छन्। 

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको छ। संघर्ष समितिकै नेतृत्वमा आज उद्योगी–व्यवसायीले बालुवाटस्थित नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने कार्यक्रम थियो। तर, उनीहरुलाई सुरक्षाकर्मी राष्ट्र बैंक घेराउ गर्न दिएनन्। त्यसपछि उनीहरुले भाटभटेनीनजिकैको पिपलबोटमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेका छन्।

केन्द्रीय बैंक घेराउ गर्न पुगेका उद्योगी–व्यवसायीले विभिन्न नारा लगाइरहेका छन्। उनीहरुले ‘ब्याज वृद्धिले गाह्रो भयो’, ‘चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका छन् । तर, उद्योगी–व्यवसायीले उठाएका केही माग राष्ट्र बैंकको नीति–नियमविपरीत रहेका र आन्दोलन ‘अराजक’ बन्दै गएको वित्त जानकारहरु बताउँछन्। 

उद्योगी–व्यसायीले केही समय पहिला पनि बैंकविरुद्ध आन्दोलन गरेका थिए। उनीहरुका केही माग सम्बोधन पनि गरिएको थियो। तर, पछिल्लो समय आफूले लिएको ऋण नतिर्ने भन्नु र उल्टै बैंकविरुद्ध आन्दोलित हुनुलाई ‘अराजक’ गतिविधिका रुपमा लिनुपर्ने एक वित्त जानकारले बताए। ‘यस्ता आन्दोलन बेलैमा नरोकिएको नसोचेको परिस्थिति सिर्जना हुन सक्छ’, ती वित्त जानकारले भने, ‘त्यसैले सरकारले बेलैमा उचित कदम चाल्न आवश्यक देखिन्छ।’

संघर्ष समितिको आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघको समर्थन रहेको छ। हिजो यो समितिको अगुवाइमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको थियो।