काठमाण्डौ । कुनै कम्पनीले चुक्तापूँजी भन्दा बढी खूद नाफा आर्जन गर्यो भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर एउटा माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा यस्तै अपत्यारिलो प्रगति गरेको छ । 

सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाको चुक्तापूँजी ४ करोड मात्र छ । तर यो कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा ४ करोड ३१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भन्दा नाफा घटेको हो, अघिल्लो वर्ष यो कम्पनीको नाफा ४ करोड ३७ लाख थियो । त्यसबेला चुक्तापूँजी २ करोड १५ लाख थियो । यो हिसाबले यो कम्पनीले विगतदेखि नै अपत्यारिलो प्रगति गर्दै गएको देखिन्छ । 

केही समयअघि यो कम्पनीले १ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेर पूँजी बढाएका कारण खूद नाफा केही घटेको देखिन्छ । 

यो माइक्रोफाइनान्स कम्पनीले ११ करोड ७२ लाखमा सीमित खुद ब्याज आम्दानीलाई बढाएर १५ करोड ५० लाखको उचाईमा पुर्याएको छ । 

यो अवधिमा महुलीले ५१ करोड ७२ लाख सापटी लिई तथा ५९ करोड ४९ लाख निक्षेप संकलन गरी १ अर्ब २१ करोड बढीको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले ४० करोड २३ लाख सापटी लिई तथा ४८ करोड १० लाख निक्षेप संकलन गरी ९२ करोड १५ लाख बढीको कर्जा परिचालन गरेको थियो । 

नाफा खुम्चिएजस्तै यो कम्पनीको निस्क्रिय कर्जाको अनुपात पनि बढेको छ । सँगै लागत खर्च पनि उच्च भएको छ । निस्क्रिय कर्जा अनुपात ०.५२ प्रतिशतबाट बढेर १.८२ प्रतिशतमा पुुगेको छ । यस्तै लागत खर्च ६.६२ प्रतिशतबाट वृद्धि भई ८.२४ प्रतिशत पुुगेको छ । यी दुवै सूचकमा नकारात्मक परिणाम आउनु कम्पनीको भविष्यका लागि राम्रो पक्ष होइन । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) १०७.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४४६.१५ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३४६२.८१ रुपैयाँ कायम भएको छ ।