काठमाण्डौ । बैंकरहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निक्षेपको ब्याज बढ्दैमा कर्जाको ब्याजदर नबढ्ने वचन दिएका छन् ।

नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीसँग यस्तो प्रतिबद्धता जनाएका अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

स्रोतकाअनुसार केही बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि अर्थमन्त्रीले यसको प्रभाव कर्जाको ब्याजदरमा कस्तो हुन्छ भनी सोधेका थिए । निक्षेपको ब्याजदर केहीले बढाएपछि लोनको ब्याजदर समेत बढ्ने चिन्ता व्यक्त गर्दै अर्थमन्त्री महतले यस्तो हो भने यसमा गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका थिए । 

प्रणालीमा लगानीयोग्य तरलता प्रशस्त रहेको र लोनको माग समेत खासै नभएको बेला ब्याजदर घटाएर जानुपर्नेमा उल्टो बाटो हिँडेकोमा अर्थमन्त्री डा. महत बैंकरहरुसँग रुष्ट देखिएका छन् । सोही क्रममा उनले वाणिज्य बैंकका सीइओहरुको छाता संगठन एनबीएका अध्यक्ष सुनिल केसीलाई ऋणको ब्याजदर बढ्ने सम्भावनाको विषयमा सोधेका थिए । 

जवाफमा केसीले केही बैंकले ब्याजदर बढाएका विषयको मात्र बढी प्रचार भएको, उत्तिकै संख्याका बैंकले ब्याजदर घटाएका र केहीले स्थिर राखेको भन्दै औसतमा भदौको भन्दा असोजको ब्याजदर घटेको तथ्यांक प्रस्तुत गरेका थिए । ‘औसतमा हेर्दा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर भदौको तुलनामा घटेकोले ब्याजदर बढेको होइन, घटेको मान्नुपर्छ ।’ केसीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘यसकारण बंैकहरुले कर्जाको ब्याजदर चाहिँ बढाउँदैनन् भन्ने कुरामा ढुक्क छौं । सधैं डिपोजिटको रेट हेरिरहन पनि आवश्यक हुन्न । तर, कर्जाको ब्याजदर एकैपटक सिंगल डिजीटमा आइहाल्न पनि असम्भव नै हुन्छ ।’ 

नेपाल बैंकर्स संघ(एनबीए)को एक तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर पनि घट्दो क्रममै छ । उदाहरणका लागि असारमा कर्जाको औसत ब्याजदर १२.३ प्रतिशत थियो भने साउनमा १२.२ प्रतिशत भयो । 

एनबीएका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले स्थानीय निकायमा जाने रकमध्ये ६१ अर्ब हाराहारी वाणिज्य बैंकहरुले निक्षेपको रुपमा प्राप्त गरेका र यसले समेत उनीहरुको आधारदर घटाउन सहयोग गर्नेछ । ‘यसकारण आगामी दिनमा कर्जाको औसत ब्याजदर अझै घट्ने प्रष्ट देखिन्छ ।’ उनले भने–‘स्थानीय निकायको रकममध्ये बढी पैसा निक्षेपको रुपमा राखेका बैंकहरुको ब्याजदर झनै राम्रोसँग घट्ने देख्छु ।’ 

एक तथ्यांकअनुसार स्थानीय निकायमा जाने रकममध्ये राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एनआइसी एशिया बैंकमा सबैभन्दा धेरै गएको छ । ६१ अर्ब हाराहारी निक्षेप थपिँदा यसको ठूलो लाभ पनि यिनै चारवटा बैंकले प्राप्त गरेका छन् । अन्य बैंकमा भने स्थानीय निकायको खासै ठूलो पैसा निक्षेपको रुपमा रहेको छैन । 

‘यसर्थ यी चारवटा बैंकको बेसरेट अझ कम भई कर्जाको ब्याजदर राम्रैसँग घट्ने देखिन्छ ।’ अर्का एक विश्लेषकले भने–‘असोजमा निक्षेपको ब्याजदर बढाउने विषयमा अगाडि रहेको एनआइसी एशियाको बेस रेट घट्ने हुँदा कर्जाको ब्याजदर राम्रै घट्ने अपेक्षा गर्न सकिन्छ ।’ 

चारवटै बैंकको आधार दर कम भई कर्जाको ब्याजदर घटेमा त्यसले अन्य बैंकहरुलाई समेत प्रतिस्पर्धी बन्न कर लाग्ने र समग्र उद्योगमै ऋणको ब्याजदर घट्न सहयोग पुग्ने जानकारहरुको मत छ ।