– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । युनिलिभर नेपाल एउटा बहुराष्ट्रिय कम्पनी हो। नेपालमा २८ वर्षपहिले आएको यो कम्पनीले हाल विभिन्न २८ वटा नै प्रडक्ट उत्पादन तथा बिक्री गर्छ। यो कम्पनीका खासगरी कस्मेटिक, डिटरजेन्ट, स्याम्पु, टुथपेस्ट,  स्किन केयरजस्ता वस्तु बजारमा प्रख्यात छन्। 

आधारभूत पक्ष

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ छ। गत वर्ष कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ हजार ९८८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ हजार ६७५ रुपैयाँ रहेको थियो। गत वर्ष कम्पनीको मूल्य आम्दानी अनुपात १६.६ गुणा रहेको छ। अघिल्लो वर्ष कम्पनीको मूल्य आम्दानी अनुपात १०.९६ गुणा थियो। कम्पनीको नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा २२.०५ प्रतिशतले बढेको छ। कम्पनीको रिटर्न अनइक्विटी भने हाल ४२ प्रतिशत रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलानामा १.६६ प्रतिशत बढी हो। 

कम्पनीले पछिल्लो १० वर्षमा वार्षिक औसत प्रतिसेयर १ हजार ६०० रुपैयाँ नगद लाभांश वितरण गरेको देखिन्छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा युनिलिभर नेपालको हाल न्युट्रल जोनमा चलेको देखिन्छ। यो भनेको लगानीकर्ता तटस्थ छन् भन्ने हो। कम्पनीमा ८५ प्रतिशत लगानी संस्थागत समूहको र १५ प्रतिशत सर्वसाधरण समूहको रहेको छ। कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ३९ हजार ५०० रुपैयाँ र न्यून मूल्य १७ हजार ७०० रुपैयाँ रहेको छ। यो कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ३५ हजार ८५० रुपैयाँमा भएको छ। 

इलिअट वेभका आधारमा 

इलिअट वेभमा बजार तथा कम्पनीको मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

यो कम्पनीको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ ए, बी र सी चल्दै गरेको देखिन्छ। कम्पनीको न्यून मूल्य १८ हजार ५६७ रुपैयाँदेखि २५ हजार २४७  रुपैयाँसम्म वेभ–१, सामान्य करेक्सन भएर वेभ–२ मा २२ हजार रुपैयाँसम्म, वेभ–३ मा बढोत्तरीका साथ ३७ हजार ३७२ रुपैयाँसम्म र वेभ–४ मा करेक्सन भएर पुनः ३१ हजार ८५ रुपैयाँसम्म आएको देखिन्छ। वेभ–५ मा बढोत्तरीका साथ ४० हजार रुपैयाँसम्म पुगेको यो कम्पनीको सेयरभाउ हाल ए, बी र सी करेक्सन चलेको देखिन्छ। जसअन्तर्गत ए, बी र सी करेक्नसमा यो कम्पनीको सेयरभाउ ३२ हजार रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयरभाउले आज अपर ब्यान्डमा सुटिङ स्टार बनाएको देखिन्छ। यसले आगामी दिनमा कम्पनीको सेयरभाउमा केही करेक्सन आउन सक्ने देखिन्छ। 

म्याक्डीबाट हेर्दा बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम पनि सकारात्मक बनेको छ। तर, यो जिरो लाइनभन्दा तल बनेको देखिन्छ। 

आरएसआई ४१ को तहबाट फर्केर हाल ५४ को विन्दुमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयरभाउ केही समय साइडवेजमा चल्न सक्ने देखिन्छ। 

पिभट् प्वइन्टका आधारमा 

पिभट् प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वटा मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात् विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३६९६०
  • प्रतिरोध २– ३८४७७
  • प्रतिरोध ३– ३६९६०

पिभट प्वइन्टः  ३५७०५

घटेमा सपोर्ट 

  • सपोर्ट १– ३४१८८
  • सपोर्ट २– ३२९२३
  • सपोर्ट ३– ३१४१६

निष्कर्ष 

युनिलिभर नेपाललाई आधारभूत रुपमा हेर्दा गएको ४ वर्षमा रिटर्न अन इक्विटी र खुद मुनाफा बढ्दो क्रममै रहेको देखिन्छ। तर, मूल्य आम्दानी अनुपात भने केही बढेको देखिन्छ। कम्पनीको जगेडा कोष पनि बढ्दो नै रहेको छ भने कम्पनीको चुक्तापुँजी स्थिर रहेको छ। गत आर्थिक वर्ष प्रतिसेयर १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको यो कम्पनीले पछिल्लो १० वर्षमा वार्षिक औसत प्रतिसेयर ९१५.५ रुपैयाँ दिएको देखिन्छ। यस हिसाबले युनिलिभर नेपाल आधारभूत रुपमा बलियो कम्पनी देखिन्छ। 

प्राविधिक हिसाबले यो कम्पनीको सेयरमा अल्पकालमा भने केही करेक्सन आउन सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।