काठमाण्डौ । नेपाल राष्ट्रबैंकले केही कारणहरु प्रस्तुत गर्दै आन्तरिक माग विस्तार भई व्यवसायिक वातावरणमा सुधार हुने र आर्थिक गतिविधि चलायमान हुने दाबी गरेको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो । 

केन्द्रीय बैंकले समीक्षामा भनेको छ–‘शोधनान्तर बचत वृद्धि भएका कारण मौद्रिक विस्तार भएको र कर्जाको ब्याजदरहरु घटिरहेको सन्दर्भमा बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्य योजनाहरुको कार्यान्वयनबाट आर्थिक गतिविधि चलायमान भई आन्तरिक माग विस्तार हुने देखिन्छ । यसका लागि वित्तीय क्षेत्र लक्षित उच्छृंखल गतिविधि नियन्त्रण गरी व्यावसायिक वातावरणमा सुधार ल्याउन आवश्यक छ ।’ 

'राष्ट्रबैंक कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही समयदेखि गएको भूकम्पका कारण धनजनको क्षति भएको उल्लेख गर्दै हजारौंको संख्यामा घरहरु भत्किएकाका कारण भूकम्प प्रभावित नागरिकहरुको उद्धार, पुर्नस्थापना र पुननिर्माणमा ठूलो लगानी गर्नु पर्ने देखिएकोले सरकारी वित्त थप दबाबमा पर्नसक्ने शंका व्यक्त गरेको छ । तर पुर्नस्थापना र पुननिर्माणलाई गति दिन सकिएमा यसबाट आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ ।' राष्ट्रबैंकले भनेको छ ।  

यस वर्षको मनसुन केही ढिलै शुरु भएपनि समग्रमा सन्तोषजनक रहेको, समयमै रासायनिक मलको उपलब्धता र धानको न्यूनतम समर्थन मूल्य तोकिएकोले कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने केन्द्रीय बैंकको अनुमान छ । 

'चालु वर्षको पहिलो त्रैमाससम्ममा पर्यटक आगमन संख्या उल्लेख्य रहेको उल्लेख गर्दै सन् २०२३ अक्टोबरसम्म ८ लाखभन्दा बढी पर्यटकहरुका आगमन भएको बताएको छ । बाह्य पर्यटनबाट हुने भ्रमण आय उल्लेख्य बढेको छ । यसबाट रोजगारी, आय आर्जन एवम् आर्थिक गतिविधि चलायनमान बनाउन सहयोग पुगेको छ ।'-समीक्षामा भनिएको छ ।  

अघिल्लो वर्षदेखि विप्रेषण आप्रवाह उल्लेख्य रहेका कारण शोधनान्तर र तरलता स्थितिमा सुधार ल्याउन सहयोग पुगेको समेत केन्द्रीय बैंकको विश्लेषण छ । 

'बढ्दो विप्रेषण आप्रवाहबाट घरपरिवारको माग विस्तार गरी आन्तरिक माग बढाउन सहयोग पुगिरहेको छ । विगत दुई वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यालाई दृष्टिगत गर्दा अघिल्लो वर्ष जस्तैचालु वर्ष पनि विप्रेषण आप्रवाह उच्च रहने देखिन्छ । यसबाट अर्थतन्त्रमा तरलता प्रवाह बढ्न गई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ ।'-समीक्षामा भनिएको छ । 

विगतमा लिइएका नीतिगत व्यवस्था, आयातमा आएको कमी र उल्लेख्य विप्रेषण आप्रवाहका कारण शोधनान्तर स्थितिमा सुधार देखिएतापनि आन्तरिक उत्पादन क्षमता कमजोर रहेको पृष्ठभूमिमा यस्तो सुधारलाई टिकाई राख्न भने चुनौतीपूर्ण रहेको भन्दै केन्द्रीय बैंकले चिन्ता व्यक्त गरेको छ । 

'शोधनान्तर स्थितिमा आएको सुधार र आन्तरिक आर्थिक अवस्थालाई दृष्टिगत गरी नीतिगत व्यवस्थाहरुमा लचकता अपनाउँदै लगिएको छ । भूकम्पपछि शुरु हुने पुनःनिर्माण र आन्तरिक उत्पादन, आयात तथा व्यापार सन्तुलनको विगतको प्रवृत्तिलाई हेर्दा व्यापार घाटा बढ्ने र बाह्य क्षेत्र पुनः दबाबमा पर्ने जोखिम छ ।' समीक्षामा भनिएको छ-'यसर्थ, आन्तरिक उत्पादन क्षमता र मागको बीचमा सन्तुलन कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्नु पर्ने आवश्यकता छ।'