काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले आफ्ना सेयरधनीलाई पूर्व प्रतिबद्धता अनुसार सतप्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। 

नेपाल राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने लक्ष्यका साथ यो बैंकको मंसिर २२ गते बसेको संचालक समितिको ३६२ औं बैठकले आर्थक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

बैंकले कर प्रयोजनका लागि प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांश वितरणको समेत निर्णय गरेको छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकको हालको चुक्तापूँजी ४ अर्ब ५७ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत बोनस वितरणपछि बैंकको चुक्तापूँजी राष्ट्रबैंकले तोकेअनुसार ८ अर्बभन्दा माथिको उचाईमा पुुग्नेछ । 

बैंकले गत वर्ष १ अर्ब ३८ करोड १९ लाख खूद नाफा आर्जन गरेको थियो । बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ४८ करोड २५ लाख खूद नाफा कमाएको छ ।  

यो बैंकले गत वर्ष प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओ बिक्रीबापत प्राप्त प्रिमियम रकमले बंैकको जगेडाकोष मजबुत भई ८ अर्ब ५५ करोडको उचाई चुमेको थियो । बैंकले हाल सतप्रतिशत बोनस यही जगेडाकोषलाई प्रयोग गरी वितरण गर्न लागेको हो ।