काठमाण्डौ । उच्च संचालन खर्च नियन्त्रण गर्न नसक्दा माइक्रोफाइनान्स भनेर मरिहत्ते गर्नेहरुलाई कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले दोश्रो त्रैमासको वित्तीय विवरणमार्फत झट्का दिएको छ ।

यो माइक्रोफाइनान्स कम्पनीको दोश्रो त्रैमासमा खूद नाफा, संचालन नाफा, रिजर्ब, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा भारी गिरावट देखिएको छ । 

यो कम्पनीले समीक्षा अवधिमा ६५ लाख ४१ लाख मात्र खूद नाफा आर्जन गर्न सक्यो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ३९ लाखको  उचाईमा पुगेको थियो ।

अत्यधिक संचालन खर्चका कारण संचालन मुनाफामा पनि ६१ प्रतिशत भन्दा बढीको पहिरो गएको छ । अघिल्लो वर्ष यही अवधिमा २ करोड ४ लाख रहेको संचालन नाफा घटेर यो वर्ष ७९ लाखमा सीमित बन्न पुगेको छ । 

कम्पनीको रिजर्ब कोष समेत घटेको छ । अघिल्लो वर्ष ६ करोड १४ लाख रुपैयाँ रहेको रिजर्ब केही खिइएर ५ करोड ६० लाखमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा यो कम्पनीले ४२ करोड ४६ लाख निक्षेप संकलन तथा ५९ करोड ७५ लाख सापटी लिई  १ अर्ब बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २५ करोड ५८ लाख निक्षेप संकलन तथा १९ करोड ६२ लाख सापटी लिई ५३ करोड ७१ लाख मात्र कर्जा प्रवाह गरेको थियो । 

व्यवसायमा वृद्धि गरेका कारण कम्पनीको खूद ब्याज आम्दानी चाहि बढेको छ । अघिल्लो वर्ष ३ करोड ३८ लाख  रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४ करोड १३ लाखको उचाई  चुमेकोछ ।

ऋघिल्लो वर्ष यही अवधिसम्म ५ करोड रहेको चुक्तापूँजी बढेर ८ करोड २५ लाखको उचाईमा पुगेको र बढेको पूँजी अनुसार आम्दानी बढाएर नाफा वृद्धि गर्नुपर्नेमा उल्टै घटेपछि यसले प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई हिट गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ९८ पैसाबाट घटेर १५ रुपैयाँ ८६ पैसामा सीमित बन्न पुगेको छ । २२२.९३ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ समेत घटेर गई १६७.९९ रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १०८.५८ गुणाको कहालीलाग्दो विन्दुमा पुगेको छ ।