काठमाण्डौ । साधारण सेयरधनीको हित र नेपालको बैकिङ कानूनलाई सधैं बेवास्ता गर्दै आएको र पछिल्लो समय खस्किदै गएको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नै सेयरधनीलाई निराश पारेको छ । 

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत चारगुणासम्म पूँजीवृद्धिको योजना ल्याएपछि त्यसको सुुरुवातमा खुलेरै विरोध गरी नेपालबाट लगानीसम्म फिर्ता लैजाने धम्की दिए पनि अन्तिममा उसको केही जोर चलेन । यसैकारण ढिलो गरी ०७४ असार मसान्तभित्र तोकिएको पुँजी वृद्धिका लागि कस्सिएको यो बैंकले एफपीओ जारी गर्ने नाममा चोर बाटोबाट नेपालीहरुको पैसा आफ्नो देश लैजान खोजेको भन्दै उसकै साधारण सेयरधनीले विरोध गरेका छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बिहीबार सम्पन्न वार्षिक साधारणसभाबाट सुनियोजित रुपमा ३३० बराबरको सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने निर्णय गराइएपछि साधारण सेयरधनी आक्रोशित भएका हुुन् । उनीहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सेयरधनीको हित भन्दा पनि कसरी बढी भन्दा बढी नेपाली पैसा बटुुल्ने र चोर बाटोबाट आफ्नो देश लैजाने भन्ने दाउ हेरेको दाबी गर्दै भनेका छन्–‘पछिल्लो कालमा धेरै नेपालीहरुको यो बैंकप्रतिको विश्वास टुटेको छ । सेयरधनी नै भए पनि अब हाम्रो विश्वास पनि टुटाउने काम भयो ।’ 

सबै साधारण सेयरधनीको सल्लाह र सहमतिमा वार्षिक साधारणसभामा लगानीकर्ता नवराज घिमिरेले यी कुुरा उठाएका थिए । उनले साधारणसभा हलमै यति ठूलो परिमाणको एफपीओ जारी गर्नुभन्दा सेयरधनीको हित हेर्न आग्रह गरेका थिए । ‘हामीले बोनस र राइटबाट तोकिएको पूँजी पुर्याउने कुरामा जोड दियौं ।’ घिमिरेले बिजशालासँग भने–‘तर भीआइपी सेयरधनीहरुलाई प्रिप्लान तयार गरी त्यहाँ ल्याइएको थियो । एफपीओका लागि सुनियोजित रुपमै बहुमत बनाइयो र हाम्रा कुरा पास हुन दिइएन ।’

उनले ३३० करोड रुपैयाँको एफपीओ जारी गर्नमै बैंकले जोड दिएपछि यसप्रति लगानीकर्ताको विश्वास टुुटेको प्रतिक्रिया दिए । ‘यो नेपालीहरुको हित चाहने बैंक होइन रहेछ ।’ उनले थपे–‘सेयरधनीकै हित नसोच्ने यो बैंक बहिस्कार गरे भयो ।’ एफपीओको प्रस्ताव पनि गोलमटोल ढंगले पास गरिएको उनको आरोप छ । ‘प्रिमियम मूल्य लगायतको बिषयमा समेत कुनै ठोस कुरा ल्याइएन ।’ उनले थपे–‘आगामी दिनमा नियामकलाई प्रभावमा पारेर धेरै भन्दा धेरै नेपालीको पैसा उठाउने हिसाबले मूल्य आउनसक्छ ।’ 

साधारण सेयरधनीको बुुझाईमा समेत स्ट्याण्डर्ड चार्टर्ड बैंक अटेरी र विदेशीको मात्र हित हेर्ने बैंक रहेको उनको दाबी छ । ‘पहिला पनि यो बैंकले नगद लाभांशमै बढी जोड दिन्थ्यो ।’ उनले थपे–‘यसपटक पनि एफपीओमै जोड दिनुको एउटै मात्र उद्देश्य पछाडिको ढोकाबाट पैसा आफ्नो देश लैजानुु हो ।’ 

उनले यो बैंकको प्रति सेयर आम्दानी निकै राम्रो रहेको अवस्थामा समेत सेयरधनीलाई मार्नैका लागि ३३ प्रतिशत मात्र बोनस सेयर घोषणा गरेर काइते काम गरिएको दाबी गरे । ‘यो बैंकले ५० प्रतिशत बोनस दिन सक्थ्यो ।’ उनले भने–‘तर नियामकलाई नै नटेर्ने बैंकले हामी निर्धा साधारण सेयरधनीलाई किन पो टेरोस् र ?’

लगानीकर्ता घिमिरले १० वर्षअघिसम्म देशको नम्बर वान बैंक रहेको स्ट्याण्डर्ड चार्टर्ड अहिले टप टेनमा रहेको र आगामी दिनमा यो भन्दा पनि पछि धकेलिने निश्चित रहेको दाबी गरे । ‘आम ग्राहक र सेयरधनीको विश्वास गुमाउँदै गएपछि भोलिका दिनमा यो निकै पछाडि पर्न सक्छ ।’ उनले भने–‘बचतकर्ता र सेयरधनीले पनि यो बैंकलाई विश्वास गर्न आवश्यक छैन अब ।’ 

एफपीओ जारी गर्ने, एफपीओको मूल्य तोक्ने र त्यसपछिको प्रक्रियामा चलाख्याईपूर्वक नेपालीबाट उठाएको रकम बाहिरिनसक्ने अवस्था रहेको उनले दाबी गरेका छन् । 

साधारण सेयरधनीका आरोप तथा गुनासाको बिषयमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोर्ड अधिकारी वा व्यवस्थापनका केही अधिकारी सम्पर्कमा आए पनि प्रतिक्रिया दिन चाहेनन् । 

जोखिम मोल्न नचाहँदा एफपीओ
बैंकर तथा विश्लेषक अनलराज भट्टराईले विदेशी बैंकहरुले पूँजीवृद्धिका लागि एफपीओको बाटो रोज्नुु सही नै भएको दाबी गरे । ‘विदेशी बैंकहरुले व्यापारको आकार, जोखिमको अवस्था सबै हेरेर मात्र आफ्नो लगानी लगाउँछ ।’ उनले भने–‘फेरि कतिपय बैंकले आफ्नो देशबाट सोझै लगानी थप्नुपर्दा लामो समयको प्रक्रिया झेल्नुपर्ने पनि हुनसक्छ ।’

नेपाल विदेशी लगानीकर्ताको नजरमा अझै पनि लगानीयोग्य देशको रुपमा परिणत नभइसकेकोले पनि स्ट्याण्डर्ड चार्टर्ड जस्ता बैंकले आफैं लगानी गरेर तोकिएको पूँजी वृद्धिको जोखिम नउठाएका हुनसक्ने उनको तर्क छ । 

‘यस्ता बैंकहरुले मुख्य रुपमा रिस्कलाई नै हेरेर आफ्नो एक्सपोजर नबढाउन खोजेको हुनसक्छ ।’ उनले थपे–‘उनीहरुले विजिनेश जस्टिफाइ हुन्छ कि हुन्न, त्यो पनि हेर्छ ।’ 

भट्टराईको भनाईमा एफपीओमा लगानी गरेको पैसाबाट लङ टर्ममा फाइदा हुने प्रष्ट पारे । ‘अहिले हेर्दा जे जे देखिए पनि लङ टर्ममा एफपीओले फाइदा नै गर्ला ।’ उनले भने –‘स्ट्याण्डर्ड चार्टर्डले एफपीओ ल्याउने भनेको चाहि विजिनेश डिसिजन हो ।’

भट्टराईले विदेशी लगानीका बैंकले सजिलै यहाँ एफपीओबाट उठाइएको पैसा लैजान गाह्रो रहेको उल्लेख गर्दै भने –‘भोलिका दिनमा देश नै छाडेर जाने भयो र बैंक कसैलाई बिक्री गर्यो भने चाहि यहाँको पैसा लैजान खोज्यो भन्न सुहाउला ।’