काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडको खूद नाफामा ठूलो गिरावट आएको छ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म  यो कम्पनीले ८ करोड ८३ लाख मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १० करोड ७१ लाख रुपैयाँ रहेको थियो । 

कर्मचारी खर्चमा भएको अत्यधिक वृद्धि र अन्य बिषयको खर्चमा समेत भएको अचाक्ली वृद्धिले यो कम्पनीको नाफा संकुचन भएको देखिएको छ । 

यो लघुवित्तले समीक्षा अवधिमा ९७ करोड निक्षेप संकलन तथा १ अर्ब ५० करोड सापटी लिएर २ अर्ब ६७ करोड कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६६ करोड १२ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३१ करोड सापटी लिई २ अर्ब १८ करोड कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानीतर्फ पनि गिरावट आएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २४ करोड ५४ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर २३ करोड ९४ लाखमा सीमित भएको हो । 

यस्तै, १६ करोड ५३ लाख रहेको संचालन नाफा समेत घटेर १३ करोड ३५ लाखमा सीमित भएको छ । 

अघिल्लो वर्ष १६ करोड ९५ लाखमा सीमित रिजर्ब बढेर यो वर्ष २० करोड २३ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ०.५० प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर यो वर्ष ०.९८ प्रतिशत पुगेको छ भने ६.५८ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ९.६६ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) ३६.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८३.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.०७ गुणा कायम भएको छ ।