काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ अर्ब ४२ करोड खूद नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य नाफा भने २ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकले ८ करोड ७२ लाख संभावित जोखिम व्यवस्थापन कोषबाट राइट ब्याक गरेको छ । 

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्ष २ अर्ब १९ करोड रुपैयाँमा सीमित खूद ब्याज आम्दानी यो वर्ष ३ अर्ब २० करोडको उचाई चुमेको हो । 

अघिल्लो वर्ष १ अर्ब ९८ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले ३ अर्ब २२ करोडको उचाई चुमाएको छ भने ३ अर्ब ८५ करोडमा सीमित जगेडाकोषको आकार बढाई ५ अर्ब ८८ करोडको बनाएको छ । 

समीक्षा अवधिमा यो बैंकले ६७ अर्ब ३८ करोड निक्षेप संकलन गरी ४६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६३ अर्ब ८७ करोड निक्षेप संकलन गरी ३९ अर्ब २६ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले ०.१९ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.१८ प्रतिशतमा झारेको छ भने ३.०६ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ४.४१ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकमा ७१.६८ प्रतिशत सीडी रेसियो रहेको छ भने प्रतिसेयर आम्दानी घटेर २५.८८ गुणा कायम भएको छ । अघिल्लो वर्ष बैंकको इपीएस ३५.४९ रुपैयाँ रहेको थियो । 

अघिल्लो वर्ष ७ अर्ब ७३ करोड रहेको चुक्तापूँजी बढेर ८ अर्ब २७ करोड पुगे पनि अपेक्षित नाफा हुन नसक्दा र खर्च बढेका कारण बैंकको प्रतिसेयर आम्दानीमा पहिरो गएको देखिएको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ  १७३.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.९१ गुणा, इक्वीटीमा प्रतिफल १७.५४ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.५१ प्रतिशत रहेको छ ।