काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । 

सन् २०२३ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड तयार गरेको छ । 

सो पत्रिकाले केही दिनअघि एक विज्ञप्ति प्रकाशित गर्दै सन् २०२३ का लागि ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’ ग्रेडमा पर्ने देशका केन्द्रीय बैंकका प्रमुखहरुको सूची सार्वजनिक गरेको छ । तर, पूर्ण सूची भने सार्वजनिक भएको छैन । 

ग्लोबल फाइनान्स पत्रिकाका सम्पादक एन्ड्री फियानोले बिजशाला सम्पादकसँग कुरा गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सन् २०२३ का लागि पाएको ग्रेडबारे जानकारी दिएका छन् । 

उनले लेखेको मेलअनुसार सन् २०२३ का लागि महाप्रसाद अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका छन् । यो भनेको सन् २०२२ को तुलनामा सुधार हो । सन् २०२२ का लागि अधिकारीले ‘सी’ ग्रेड पाएका थिए । 

विभिन्न देशका केन्द्रीय बैंकका प्रमुखहरुको कार्यप्रगति, जनतामा उनीहरुको लोकप्रियता, उनीहरुले लिने नीति तथा त्यसको प्रभाव, सरकारसँगको सम्बन्ध, मौद्रिक नीतिको प्रभावकारिता लगायतमा आधारित रहेर सार्वजनिक हुने यस्तो ग्रेडिङअन्तर्गत नेपालका गभर्नर अधिकारीको ग्रेड गत सालभन्दा सुधार देखिए पनि सन्तोषजनक भने होइन । 

सन् २०२१ मा पनि उनले पाएको ग्रेड ‘बी माइनस’ नै थियो । सन् २०२२ मा उनको ग्रेड थप खस्किएर ‘सी’मा सीमित बन्न पुगेकोमा सन् २०२३ का लागि भने केही सुधार देखिएको हो । 

अर्थतन्त्रको बाह्य क्षेत्रमा पछिल्लो समय सुधार देखिएको छ । विदेशी अघिल्लो वर्षसम्म जोखिमपूर्ण अवस्थामा देखिएको विदेशी मुद्रा सञ्चितीमा सुधार भएका कारण अधिकारीको ग्रेड एक स्टेप सुध्रिएको अनुमान लगाउन सकिन्छ । 

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको श्रीलंकाका गभर्नर नन्दलाल वीरासिङ्गेले ‘ए माइनस’को ग्रेड पाएका छन् । नेपालका गभर्नरको ग्रेड नन्दलालको भन्दा पनि कमजोर देखिएको हो । 

गभर्नर अधिकारी लामो समयदेखि गलत मौद्रिक नीति, पूर्वाग्रही व्यवहार र सरकारसँगको पूर्वाग्रही सम्बन्धका कारण विवादमा पर्दै आएका छन् ।

विदेशीहरुको कुरा बढी सुन्ने, देशको अर्थतन्त्रको आन्तरिक अवस्थातर्फ ध्यान नदिई जथाभावी नीति बनाउने, सेयर बजारका लगानीकर्तालाई प्यानिक बनाउने गरी अनावश्यक नीतिहरु बनाउने लगायतका प्रकरणहरुमा उनी चरम विवादमा छन् । 

उनी अर्थतन्त्रको आन्तरिक समस्या समाधानमा सधैं असफल हुँदै आएका छन् । 

महङ्गी नियन्त्रण हुने गरी मौद्रिक औजारहरुको कार्यान्वयनमा समेत उनी कमजोर देखिँदै आएका छन् । 

टपमा आए भारतका गभर्नर
भारतका केन्द्रीय बैंकका गभर्नर शशीकान्त दासले आफ्नो ग्रेडलाई लगातार सुधार गरेका छन् ।

सन् २०२१ मा उनको ग्रेड ‘बी माइनस’ थियो । सन् २०२२ मा उनले आफ्नो ग्रेडलाई सुधार गरी ‘ए’ मा उक्लिएका थिए । सन् २०२३ मा उनको ग्रेड अझ सुधार भई ‘ए प्लस’ आएको छ । 

‘ए प्लस’को ग्रेड भारतसहित तीन देशका केन्द्रीय बैंकका प्रमुखले मात्र पाएका छन् । स्वीट्जरल्याण्डका थोमस जे. जोर्डन र भियतनामका न्यूगेन थि होङले पनि सन् २०२३ का लागि ‘ए प्लस’ ग्रेड पाएका छन् । 

यी हुन् ‘ए’ ग्रेड पाउने
यो वर्ष ८ देशका केन्द्रीय बैंक प्रमुखले ‘ए’ ग्रेड पाएका छन् । ब्रजिल, इजरायल, मरिसस, न्यूजील्याण्ड, पाराग्वे, पेरु, ताइवान र उरुग्वेका केन्द्रीय बैंक प्रमुख ‘ए’ ग्रेडको सूचीमा परेका छन् । 

‘ए माइनस’ पाउने को–को ?
दश देशका केन्द्रीय बैंक प्रमुखले ‘ए माइनस’ ग्रेड पाएका छन् । 

‘ए माइनस’ ग्रेड पाउनेमा कोलम्बिया, डोमिनिकल रिपब्लिक, आइसल्याण्ड, इण्डोनेशिया, मेक्सिको, मोरोक्को, नर्वे, साउथ अफ्रिका, साउथ कोरिया र श्रीलंका रहेका छन् ।

 

बाँकी विवरण कहिले आउँछ ?
ग्लोबल फाइनान्स पत्रिकाका सम्पादक एन्ड्री फियानोले लेखेको मेलअनुसार ‘ए प्लस’, ‘ए’ र ‘ए माइनस’बाहेकको ग्रेडमा पर्नेहरुसहितको केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडको पूर्ण सूची केही दिनपछि सार्वजनिक हुनेछ । 

यसअघिको समाचार: