काठमाण्डौ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको क्रम सुरु गरिसकेका छन् । 

माछापुच्छ्रे बैंकले दुईवटा आर्थिक वर्षको लाभांश एकैपटक घोषणा गरेर यसको सुरुवात गरिसकेको छ । 

बिग मर्जरबाट संख्या घटेर २० वटामा सीमित भएका वाणिज्य बैंकहरुले घोषणा गर्ने लाभांशतर्फ सबैको नजर छ । २० मध्ये एउटा बैंक पूर्ण सरकारी रहेको छ । यसर्थ १९ वटा वाणिज्य बैंकहरुबाट घोषणा हुने लाभांश सबैको प्रतिक्षाको विषय बनेको छ । 

नेपालको सेयर बजारमा वाणिज्य बैंकहरुको योगदान निकै ठूलो रहेकोले पनि यो समूहका कम्पनीको लाभांशमा सबैको ध्यान जाने गर्दछ । 

तर, यसपटक वाणिज्य बैंकहरुको लाभांश क्षमता उत्साहजनक छैन । गत वर्ष बढेको खराब कर्जा, त्यसका लागि गर्नुपरेको प्रभिजन लगायतका कारण बैंकहरुको नाफा नराम्ररी प्रभावित भएको छ । यसले कतिपय बैंक लाभांश बाँड्नै नसक्ने अवस्थामा छन् भने कतिपयलाई लगानीकर्ताको चित्त बुझाउन हम्मे हम्मे पर्ने देखिन्छ । 

वाणिज्य बैंकहरुको भीडमा पछिल्लो समय एभरेष्ट बैंक चम्किरहेको छ । प्रूडेन्ट बैंकिङमा जोड गर्दै आएको यो बैंकले गत वर्ष पनि लगानीकर्तालाई आकर्षक लाभांश वितरण गरेको थियो । मुख्य वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गर्दै अगाडि बढेको यो बैंंकले लगानीकर्ताहरुलाई पनि उत्साहित बनाउँदै आएको छ ।  

यसपटक पनि अन्य बैंकको तुलनामा एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी देखिन्छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा ४० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनेको देखिन्छ । यहीकारण समेत एभरेष्ट बैंकको सेयरमूल्य बढेर निकै माथि पुगिसकेको छ । 

दोश्रो बजारमा एभरेष्ट बैंकको सेयरमूल्य बढेर धेरै सेयरमूल्य भएका वाणिज्य बैंकको सूचीको दोश्रो नम्बरमा पुगेको छ । यसले समेत एभरेष्ट बैंकको सम्भावित लाभांशको विषयमा लगानीकर्तामा कुन हदसम्मको चासो छ भन्ने देखाउँछ । 

हाल एभरेष्ट बैंकको सेयरमूल्य ६०० रुपैयाँ हाराहारी छ । कम्पनीको राम्रो लाभांश क्षमता बनेकै कारण सेयरमूल्य नवील बैंकको भन्दा माथि छ । एनआइसी एशियाभन्दा चाहिँ कम छ । 

लगानीकर्ताबीच ब्लुचिप स्क्रिप्टको रुपमा स्थापित हुँदै गएको एभरेष्ट बैंकले कहिले लाभांश घोषणा गर्ला त ? कति लाभांश घोषणा गर्ला ? लाभांश घोषणा गर्दा बोनस सेयरमा जोड देला कि नगदलाई ? 

बैंकस्थित उच्च स्रोतका अनुसार दुई दिनअघि गत वर्षको ब्यालेन्ससिट स्वीकृतिका लागि राष्ट्रबैंकमा पठाइएको छ । राष्ट्रबैंकले अध्ययनपछि ब्यालेन्ससिट स्वीकृत गरी पठाउनेछ र त्यसपछि बस्ने एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले लाभांशको विषयमा आवश्यक निर्णय गर्नेछ । 

स्रोतका अनुसार राष्ट्रबैंकले अध्ययन गरी बैंकलाई ब्यालेन्ससिट पठाउन एकहप्ता जति लाग्न सक्छ । त्यसपछिको साता सञ्चालक समिति बैठक बसेर लाभांश सम्बन्धी आवश्यक निर्णय हुनेछ । 

कति आउला लाभांश ?
बैंकस्थित उच्च स्रोतका अनुसार लाभांश क्षमता ४० प्रतिशतभन्दा माथि देखिए पनि बैंकले सोहीअनुपातमा घोषणा गर्दैन ।

‘धेरैमा २० प्रतिशतसम्म लाभांश घोषणा हुनसक्ला ।’ बैंकका एक उच्च अधिकारीले दाबी गर्दै भने–‘राष्ट्रबैंक अझ कडा बनिदियो भने १५ प्रतिशत हाराहारी मात्रै पनि हुनसक्छ ।’ 

बोनस कि नगद ?
एभरेष्ट बैंकको सञ्चालक समिति तथा उच्च व्यवस्थापन पूँजीको आकार मात्र ठूलो बनाएर संस्थालाई भद्दा बनाउन नहुने पक्षमा पहिलादेखि नै प्रष्ट रहँदै आएको छ । विदेशी लगानी समेत रहेकोले उनीहरुको रोजाईमा बोनस सेयर भन्दा नगद लाभांश नै हुन्छ । यहीकारण यसपटक बैंकले नगद लाभांशलाई जोड दिने सम्भावना छ ।

‘अहिलेको अवस्थामा धेरै पूँजी बढाउनुपर्ने आवश्यकता देखिन्न ।’ स्रोतले भन्यो–‘पूँजी बढाएर अगाडि बढेका बैंकहरुको हालत पनि देखिएकै छ ।’ 

गत वर्ष बैंकले २१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसमध्ये १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश थियो । 
त्योभन्दा अघिल्लो वर्ष बैंकले १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।