काठमाण्डौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो ।

काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने नेपाल बैंकर्स एसोसिएन(एनबीए)का अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

नेपालमा पहिलो पटक हुन लागेको सो सम्मेलनको नारा ‘‘रोडम्याप फर रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ रहेको  छ । 

सम्मेलनका क्रममा चार ओटा सेसन हुने र त्यसमा अन्तरराष्ट्रिय स्तरका बैंकर तथा वित्तीय वक्ताहरुको सहभागिता रहने छ।

सेसनमा डिजिटल ट्रान्सफरमेसन, ग्लोबल बैकिङ परिदृष्य, इन्भारोमेन्ट सोसियल गभरन्मेन्टलगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा सहभागी बैंकरहरुबीच एसियाभरका बैंकहरुमा देखिएको अनिश्चितता र अन्यौलताका विषयमा समेत विशेष छलफल हुनेछ ।

आयोजक देश नेपाल भएकोले यहाँको बैंकिङ र समग्र अर्थतन्त्रको विकासका लागि ‘रिईम्याजिन इकोनोमि अफ नेपाल’ नामक विशेष सेसन समेत सञ्चालन हुनेछ ।