काठमाण्डौ । खराब कर्जा असूलीमा ध्यान दिएका कारण नोक्सानी व्यवस्थाका लागि विनियोजन गर्नुपर्ने रकम ह्वात्तै घटेपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खूद नाफामा कमालको प्रगति भएको छ । 

एपेक्स डेभलपमेन्ट बैंक लगायतलाई गाभेपछि थुप्रो लागेको खराब कर्जाको अनुपातलाई सुधार गरेका कारण बैंकको अवस्था केही मजबुत देखिएको छ । एपेक्स डेभलपमेन्ट बैंकले एनसीसीसँग एक्वीजिसनको सम्झौता भएपछि जथाभावी प्रवाह गरेको ऋणले खराब कर्जाको अनुपातलाई बढाएको थियो । तर, एपेक्समा भएको मनपरी र घोटाला प्रकरणमा  नेपाल प्रहरीको केन्द्रीय  अनुसन्धान ब्यूरोले कारबाही प्रक्रिया अगाडि बढाएपछि बैंकको असूल हुन बाँकी कर्जामा समेत आगामी दिनमा सुधार आउने देखिन्छ । त्यसो भयो भने चालु आर्थिक  वर्षको तेश्रो त्रैमाससम्म नोक्सानी व्यवस्थाका लागि राखिएको २३ करोड समेत अझ घट्नेछ र बैंकले नाफातर्फ अझ ठूलो फड्को मार्नेछ । अघिल्लो वर्ष यही अवधिमा बैंकले नोक्सानी व्यवस्था कोषमा १ अर्ब बढी रकम राख्नुपरेको थियो।

समीक्षा अवधिमा यो बैंकले ५४ करोड ३१ लख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १६ करोड ७३ लाखको न्यून विन्दूमा सीमित थियो । त्यसबेला अत्यधिक खराब कर्जा रहेका कारण नोक्सानी व्यवस्थामा निकै ठूलो धनराशि छुट्याउनुपरेको थियो । अघिल्लो वर्षको तेश्रो तुलनामा नोक्सानी व्यवस्थाका लागि करिब ७६ प्रतिशत कम रकम राख्नुपरेको हो । 

बैंकले २२५ प्रतिशतको हाराहारीमा नाफा वृद्धि गरेका कारण अघिल्लो वर्ष ४.८० रुपैयाँमा  सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी समेत बढेर  यो वर्ष १५.४८ रुपैयाँको उचाईमा पुगेकोछ । 

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ७९ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । यस्तै, २ अर्ब २५ करोड रहेको ब्याज खर्च बढेर ३ अर्ब ७८ करोडको उचाईमा पुगेको देखिएको छ । 

यो अवधिमा बैंकले ५९ अर्ब १ करोड निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५५ अर्ब २६ करोड निक्षेप संकलन गरी ४८ अर्ब ७० करोड कर्जा परिचालन गरेको  थियो ।

अघिल्लो  वर्ष ४.६८ प्रतिशतमा सीमित खराब  कर्जा अनुपात ३.९७ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा  बैंकको प्रतिसेयर  नेटवर्थ १६६.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.०६ गुणा कायम भएको छ ।