काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको सम्बन्धमा देखिएको तिक्तता झनै बढ्दै गएको देखिएको छ। 

आज राजधानीमा आयोजित अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजनामा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको परस्पर विपरीत अभिव्यक्तिले यी दुवैबीच देखिएको तिक्तता झनै बढ्दै गएको पुष्टि गरेको हो। अधिकारी र शर्माको सम्बन्ध चिसिएको लामो समय बितिसक्दा पनि सुध्रिन सकेको छैन। जसका कारण यी दुवैबीच समन्वय नहुँदा अर्थतन्त्र डामाडोल बन्दै गएको छ। 

एकअर्काले ल्याएको नीति असफल बनाउने र आपसमा प्रहार गर्ने खेलमा लामो समयदेखि शर्मा र अधिकारी व्यस्त हुँदा अर्थतन्त्र धरापमा परेको अर्थविद्हरु बताउँदै आएका छन्। 

आजको कार्यक्रममा गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ उन्मुख रहेको बताए। ‘अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकोले आयात नघटेमा श्रीलंकाजस्तो स्थिति आउन सक्छ’, चेतावनी दिँदै उनले भने, ‘आयात बढ्दै जाने तर सोहीअनुरुप विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा हामी जान सक्छौँ।’

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा भएको बताए। ‘सोही कारण बैंकमा तरलता अभाव देखिएको छ’, उनले भने। 

सोही कार्यक्रममा गभर्नरको भनाइप्रति अर्थमन्त्री शर्माले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। ‘नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जान लागेको भन्दै आतंकित पार्ने काम नगरौँ’, गभर्नर अधिकारीप्रति संकेत गर्दै शर्माले भने, ‘अर्थतन्त्रमा समस्या भए पनि श्रीलंकाको बाटोमा गएको छैन, बरु सुधार गर्ने विषयमा बहस गर्न गछौँ।’

राष्ट्र बैंक नियमनकारी निकायमात्र नरहेको उल्लेख गर्दै शर्माले भने, ‘राष्ट्र बैंक अर्थतन्त्रका बारेमा अध्ययन तथा अनुसन्धान गर्ने संस्था पनि हो तर त्यसमा जिम्मेवार देखिएन।’ 

शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंकाजस्तो नेपालको अर्थतन्त्र हुनेमा कुनै सत्यता नरहेको बताएका हुन्। ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ। किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’, उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन।’