काठमाण्डौ । राष्ट्रिय स्तरका टप विकास बैंकमध्येको एक सिद्धार्थ डेभलपमेन्ट बैंक आफैं सवल हुँदा हुँदै जनता बैंकसँग एक्वीजिसनमा जाने खबरले अहिले बजार तताएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा २०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापुँजी पुुर्याउन खासै गाह्रो नभएको यो बैंक एकाएक किन एक्वीजिसनमा गयो होला ?

विश्वस्त स्रोतका अनुसार कमजोर जनता बैंक नेपाल समेत सिद्धार्थको बिलयपछि बलियो हुने र अधिकांश सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताको इच्छा समेत वाणिज्य बैंक बन्ने चाहनाले यो सम्झौता गराउन प्रेरित गरेको छ । राष्ट्रबैंकको चाहना समेत विकास बैंक वा फाइनान्स कम्पनी भन्दा मर्जर वा एक्वीजिसनपछि सीमित संख्याका वाणिज्य बैंक नै बनून् भन्ने चाहनाले समेत सिद्धार्थ डेभलपमेन्ट बैंकको जनता बैंकमा बिलयको निर्णय गराएको उच्च स्रोतले जनाएको छ । 

कहिले हुन्छ मर्जर ?
स्रोतका अनुसार जनता बैंक नेपालसँग त्रिवेणी विकास बैंकको मर्जरको प्रक्रिया अन्तिम चरणमा छ । सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालकसँग जनता र त्रिवेणी बैंकका संचालकले त्रिवेणीसँगको मर्जर सकिएर एकीकृत कारोबारपछि मात्र एक्वीजिसनको औपचारिक घोषणा गर्ने सहमति भएको छ । जनता र त्रिवेणीको एकीकृत बित्तीय कारोबार सुरु भएपछि मात्र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया सुरु हुनेछ । संभवत जनता र त्रिवेणीबीचको मर्जर सकिएर चैत पहिलो साताबाट एकीकृत कारोबार सुरु हुने र त्यसपछि सिद्धार्थलाई एक्वायर गर्ने औपचारिक घोषणासहित प्रक्रियालाई तीव्रता दिइने बताइएको छ । 

‘एक्वीजिसनमा जाँदा ०७४ असार मसान्तभित्र काम सकिसक्ने गरी अगाडि बढ्न समेत सजिलो हुने देखियो ।’ जनता बैंकका एक संचालकले बिजशालासँग भने–‘सबै कर्मचारीको मिलान र सेयर स्वाप रेसियोको बिषयमा समेत कुरा मिलिसकेको छ ।’ 

कति होला स्वाप रेसियो ?
सिद्धार्थ डेभलपमेन्ट बैंक व्यवसायिक रुपमा निकै सवल विकास बैंक हो । केही वर्षअघिसम्म समस्याग्रस्त भए पनि अजयकुमार मिश्रले व्यवस्थापन सम्हालेपछि यो बैंकले काचुुली फेरेको थियो । यो बैंक पनि विभिन्न साना संस्थालाई एक्वायर गर्दै सवल विकास बैंकको बाटोमा अगाडि बढेको थियो । विजिनेश ग्रोथ, खूद नाफाको हिसाबले समेत यो बैंक निकै सवल छ । यहीकारण समेत जनता र त्रिवेणीको मर्जरबाट निर्माण हुने जनता बैंक नेपालसँग यो बैंकको प्राप्ति १ बराबर १ सेयर स्वाप रेसियोको आधारमा हुने प्रारम्भिक सम्झौता भएको छ । जनता बैंकका ती संचालकका अनुसार डिडिए रिपोर्टका आधारमा सिद्धार्थको ग्रोथ बढी देखिए १ बराबर १ सेयर स्वाप रेसियोमा सामान्य संसोधन पनि हुनसक्छ । 

कति पुुग्छ चुक्तापूँजी ?
सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । जनता बैंकले त्रिवेणीसँगको मर्जरपछि ६० प्रतिशत हकप्रद दिएर चुक्तापुँजी ८ अर्ब माथि पुर्याउने यसअघि नै योजना सार्वजनिक गरिसकेको छ । यसरी सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेपछि बन्ने जनता बैंक चुक्तापूँजीको हिसाबले समेत निकै बलियो बैंक बन्ने देखिन्छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको राम्रो व्यापार समेत जनतामै समाहित हुने भएकोले विजिनेशको कोणबाट समेत यो बैंक देशकै टप वाणिज्य बैंकको रुपमा स्थापित हुुने संभावना बढेको छ । केही अघिसम्म माछापुच्छे बैंकसँगको मर्जर भाँडिएपछि राष्ट्रबैंकको समेत कारबाहीको सूचिमा परेको र निकै कमजोर वाणिज्य बैंकको रुपमा रहेको जनता एकाएक टप बैंक बन्ने खबरले धेरै सेयरधनीलाई आश्चर्यमिश्रित खुशी दिएको बताइएको छ । 

राष्ट्रबैंकलाई हाईसञ्चो
सिद्धार्थ डेभलपमेन्ट बैंकलाई विगत लामो समयदेखि नेपाल राष्ट्रबैंकले कानूनविपरीत नाम फेर्न दवाब दिइरहेको थियो । केही महिनाअघि सम्पन्न सिद्धार्थ डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाले राष्ट्रबैंकको दवाबलाई खारेज गरी सिद्धार्थ डेभलपमेन्ट बैंक नै नाम राख्ने निर्णय गरेको थियो । यो निर्णयबाट राष्टबैंक क्रूद्ध बनेको थियो । नियामकको निर्देशन नमानेको भन्दै राष्ट्रबैंकले सिद्धार्थलाई पछिल्लो समय यही प्रसंगमा थप दवाब समेत दिइनै रहेको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकले भने कम्पनी रजिष्टार सम्बन्धी देशको विद्यमान ऐनलाई आधार मानी पहिला दर्ता हुने कम्पनीको सिद्धार्थ नाममाथि अधिकार रहने भन्दै राष्टबैंकको निर्देशन कतैबाट प्रभावित भएको बताउँदै आएको थियो । राष्ट्रबैंकले सिद्धार्थ बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको नाम मिल्न गएको भन्दै डेभलपमेन्ट बैंकलाई चाहि सिद्धार्थ नाम परिवर्तन गर्न निरन्तर दवाब दिने गरेको थियो । तर, सिद्धार्थ बैंक भन्दा सिद्धार्थ डेभलपमेन्ट बैंकको दर्ता अगाडि भएका कारण कानूनी रुपमा डेभलपमेन्ट बैंक बलियो थियो । गैरकानूनी निर्देशनको कडा आलोचना भएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकको नाम फेराउने प्रसंग टाउको दुखाईको बिषय बनिरहेको बेला जनतासँगको एक्वीजिसनको सम्झौताले राष्ट्रबैंकलाई समेत हाइसञ्चो हुने भएको छ । अर्कोतर्फ, यो एक्वीजिसनपछि नामको हिसाबले सबैभन्दा ठूलो फाइदा सिद्धार्थ बैंकलाई भएको छ । कारण, सिद्धार्थ डेभलपमेन्ट बैंककै विरोधका कारण नाम फेर्नुपर्ने सिद्धार्थ बैंकको डर समेत यो सम्झौतापछि हराएको छ ।