काठमाण्डौ । राष्ट्रिय स्तरका निकै राम्रा दुुई विकास बैंकलाई गाभेर मजबुत बनेको भनिएको जनता बैंक नेपालले आइतबार आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशन गरेपछि यसको बिषयमा अनेकन चर्चा-परिचर्चा सुरु भए । मुख्य बित्तीय विवरणमा यो बैंकले प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको प्रकाशन गरेपछि यसबाट लगानीकर्ताले राम्रो रिटर्न नपाउने अवस्था रहेको र मजबुत भएको भनेर गलत हल्ला पो फैलाइएछ कि भन्ने आशंका समेत धेरै लगानीकर्तामा पर्यो । जनता बैंक नेपालको अवस्था यति कमजोर नै हो त ? २ मजबुत विकास बैंक गाभ्दा समेत इपीएस घटेर ९ रुपैयाँमै सीमित भएको हो ? 

सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकलाई गाभेर मजबुत बनेको जनता बैंक नेपालको वास्तविक इपीएस प्रकाशन गरिएजस्तो ९ रुपैयाँ नरहेको देखिएको छ । जनता बैंक नेपालले त्रिवेणी विकास बैंकलाई गाभेर चैत २५ गतेदेखि र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभेर असार सकिन २ दिनअघि एकीकृत कारोबार सुरु गरेको थियो । यसको अर्थ जनता बैंकले अहिले प्रकाशन गरेको बित्तीय विवरणमा त्रिवेणीको प्रगति चैत २५ पछिको मात्र समाहित छ भने सिद्धार्थको नाफा २ दिनको मात्र समावेश छ । यसरी २ मजबुत विकास बैंकको सम्पूर्ण नाफा नै समाहित नगर्दा समेत जनता बैंकले खूद नाफातर्फ गरेको प्रगति निकै उत्साहजनक छ । 

गत वर्षको तुलनामा खूद नाफातर्फ ३८० प्रतिशतको फड्को मार्नु चानचुने कुरा होइन । बैंकले यसअघि नोक्सान वापत राखेको ४१ करोड ५९ लाख फिर्ता ल्याएको छ । उच्च राइट ब्याकले बैंकको नाफामा उल्लेख्य सुधार हुन सकेको देखिएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि  रकम घटाएर १७ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ ।

उसो भए जनता बैंकको वास्तविक नाफा चाहि कति हो त ? बैंकले प्रकाशन गरेको बित्तीय विवरणको मुन्तिर 'नोट्स' भन्ने ठाउँमा ५ वटा बुँदा लेखिएका छन् । जहाँ जनता बैंकको वास्तविक नाफा कति हो स्पष्ट खुलाइएको छ । यो विवरणतर्फ धेरैको ध्यान नजाँदा जनता बैंकको प्रमुख सूचकमध्येको एक इपीएसको बिषयमा लगानीकर्ता र यो बैंकका सेयरधनीमा समेत भ्रम उत्पन्न भएको पाइएको छ । सिद्धार्थ र त्रिवेणीको समेत समीक्षा अवधिको नाफा जोड्दा जनता बैंक नेपालले १ अर्ब ८ करोड ७५ लाख बढी खूद नाफा आर्जन गरेको देखिएको छ । 

तर, एकीकृत कारोबार हुनुुभन्दाअघिको सिद्धार्थ र त्रिवेणीको निकै ठूलो भोल्युमको नाफा जनता बैंकको नाफामा तत्काल जोड्न नमिल्ने भएकोले त्यसलाई जगेडाकोषमा हालिएको छ । 

यहीकारण समेत जनता बैंकको जगेडा कोषमा व्यापक वृद्धि भएको देखिएको हो । जनता बैंकको जगेडा कोष अघिल्लो वर्षसम्म १७ करोड १० लाखमा सीमित रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ८२ करोडको उचाईमा पुुगेको छ । 

चुक्तापूँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रहेको यो बैंकको वास्तविक नाफा १ अर्ब ८ करोड ७० लाख रहेको छ । यो तथ्यांकबाट हिसाब गर्दा जनता बैंक नेपालको वास्तविक इपीएस १६ रुपैयाँ हुन आउँछ । संकटमा फसिसकेको बैंकको इपीएसमा देखिएको यो प्रगतिलाई सकारात्मक मान्नुपर्छ । आर्थिक वर्ष २०७२/७३ मा समेत जनता बैंकको इपीएस १६ रुपैयाँ नै थियो । त्यसबेला २ अर्ब ६ करोड चुक्तापूँजी रहेको बैंकको इपीएस १६ रुपैयाँ रहनुु र अहिले ७ अर्बको हाराहारीमा पूँजी पुुग्दा समेत इपीएस १६ रुपैयाँमै स्थिर रहनु निकै राम्रो पक्ष मान्नुपर्छ । 

एकीकृत कारोबार हुुनुुअघिसम्मको सिद्धार्थको ३४ करोड ३२ लाख नाफा र त्रिवेणीको १० करोड २० लाख नाफा जगेडा कोषमा पठाइएको छ । 

कति छ लाभांश क्षमता ?
सिद्धार्थ र त्रिवेणी मिसिएर मजबुत बनेको जनता बैंक नेपाल लिमीटेडको वास्तविक प्रगति विवरणलाई हेरेर समीक्षा गर्दा यो बैंकको लाभांश क्षमता करिब १५ प्रतिशत रहेको देखिन्छ । यसको अर्थ यो बैंकले १ अर्ब बराबरको बोनस सेयर दिएर ८ अर्ब चुक्तापूँजी आरामले पुर्याउनेछ । 

जनता बैंक नेपालका सेयरधनीले निकट भविष्यमै १५ प्रतिशतको हाराहारीमा बोनस सेयर पाउनेछन् । निकै मजबुत बनेको भनिएको यो बैंकका लागि संचालन खर्च तथा कर्मचारी व्यवस्थापन खर्च, शाखा सञ्जालको व्यापक बिस्तारसँगै आउनसक्ने जोखिम व्यवस्थापन लगायतका समस्या आगामी दिनमा मुख्य चुनौति बन्ने देखिन्छ ।