काठमाण्डौ ।अधिकांश लगानीकर्ताहरु आजभोलि सेयर भाउ घटिरहेपछि रकम डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

कुनै पनि कम्पनीको सेयरमूल्य घटबढ हुनुमा विभिन्न फ्याक्टरहरुले काम गरिरहेका हुन्छन्। सेयरमूल्यमा हुने उतारचढाव कम्पनीको नाफा घाटा मात्रासँग मात्र सम्बन्धित हुँदैन । सेयरमूल्यमा उतारचढाव हुनुमा खासगरी अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक नियामक नेपाल स्टक स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा बजारमा हुने चर्चा परिचर्चाले पनि प्रभाव पारिरहेको हुन्छ ।

हुन त सेयरबजारलाई अर्थतन्त्रको ऐनाको रुपमा चित्रण पनि गर्ने गरिन्छ ।देशको अर्थतन्त्र र सेयर बजार एक आपसमा अन्तर्निहीत त हुन्छन् नै। अर्थतन्त्रमा सुधार आयो भने सेयर बजारमा स्वतः सुधार आएको हुन्छ। 

३ हजार २००सम्म पुगेको नेप्से अहिले १ हजार८४० वरिपरि घुम्नु भनेको निकै कमजोर स्थिति हो।यसले लगानीकर्तामा चरम नैरास्यता सृजना गरेको छ । तर पनि पूँजीबजारसम्बद्ध विज्ञहरुले चाहिं आम लगानीकर्तालाई दिनहुँ आफ्नो लगानी जाँच नगर्न सल्लाह दिने गरेका छन्। किनभने बजारमा थोरै उतारचढावहरू आइरहन्छ । यो स्वभाविक प्रक्रिया पनि हो । पूँजीबजारको यो सौन्दर्य पनि हो ।

लगानीकर्ताहरुले यसरि आत्तिरहने र निरासाको कुरा मात्रै गरिरहने हो भने यसबाट नियामकहरुले गर्ने दीर्घकालीन निर्णयहरूलाई असर गर्न सक्छ। अझ यसमा विशेष कुरा त के छ भने बजारलाई राम्ररी चिन्नेहरूले सामान्य लगानीकर्ताहरुको लगानी मनोविज्ञान परीक्षण गर्ने रणनीति अपनाइ रहेका हुन्छन् ।

भारतको एसबीआई म्युचुअल फण्डका प्रमुख लगानी अधिकृत आर श्रीनिवासनले एउटा अन्तरवार्तामा दैनिक रुपमा सेयर भाउ नहेर्न (लगानी जाँच नगर्न ) लगानीकर्तालाई सुझाव दिएका छन् । उनी स्वयं पनि १.५ लाख करोड भारुको सम्पत्तिमा नजर राख्ने पूँजीबजार विज्ञ हुन् । 
बजारबारे उनको के सोच छ ? के छन् सेयर बजार विज्ञको रणनीति ? आजको यो वित्तीय श्रृंखलामा यसबारे चर्चा गर्न खोजिएको छ । जसको फाइदा तपाईले पनि उठाउन सक्नुहुन्छ। 
बजारमा सफल हुनको लागि कडा परिश्रम गर्नु पर्ने कुरामा उनको फरक मत छ । उनका अनुसार कडा परिश्रममा बिताएको घण्टा पनि धेरै महत्वको हुन्छ । लगानी भनेको पूर्णतया फरक प्रक्रिया हो  । जहाँ तपाइँले कुन कम्पनीमा के का लागि लगानी गर्न चाहनु भएको छ वा लगानी गरिरहनु भएको छ, त्यो कम्पनीको बारेमा निरन्तर अध्ययन गरि रहनुस ।

र कहिलेकाहीं यो एकदम रमाइलो हुन सक्छ। यसको अर्थ, यदि तपाइँलाई आफूले लगानी गरको कम्पनीप्रति विश्वास छ, या अझ ती कम्पनीहरूबारे जान्ने रुचि विकास गर्नुहुन्छ भने, तपाइँको त्यसमा गरेको लगानी कहिल्यै डुब्दैन । यसका लागि लगानी तयारी गर्न पनि धेरै मेहनत गर्नु पर्दैन।

सोही क्रममा उनले आफूले हरेक दिन सेयरको भाउ नखोज्ने र कहिलेकाहीँ बजार बन्द  हुँदासम्म पनि बजारको दिशा के हो भनेर नखोज्ने स्पष्ट पारे । उनका अनुसार आफ्नो पोर्टफोलियोमा ठूलो फेरबदल भइरहेको नै छैन भने हरेक दिन स्टकमा नियाल्नु आवश्यक पनि छैन ।
उनले कयौं पटक पूरा रिसर्च गरे पनि कम्पनीले नै रणनीति परिवर्तन गर्ने भएकाले घाटा बेहोर्नुपर्ने बताए ।

उनले किर्लोस्कर आयल इन्जिनको उदाहरण पनि दिएका छन् ।उनका अनुसार सबै वित्तीय सूचकहरु बलियो भएकाले कम्पनीमा पैसा लगानी गरेका थिए । तर, उक्त कम्पनीले अन्य वित्तीय सेवामा लगानी गर्ने निर्णय गर्दा उनको पोर्टफोलियो प्रभावित हुन पुग्यो। कम्पनीले सन् २०१८ मा एनबीएफसीको लाइसेन्स पाएको थियो । सन् २०२० मा स्टकमा तीव्र गिरावट आएको थियो, जसमा कोभिड महामारीको प्रभाव पनि समावेश थियो ।  तर अधिकांश लगानीकर्ताहरु आत्तिए अनि ठूलो घाटा बेहोरेर बाहिर निस्कए । तर उनी आत्तिएनन् । र, अहिले सोही कम्पनी पुन ः प्राप्ति गरी नयाँ उचाइमा पुगेको छ । लगानीकर्ताहरुले पुन : प्रतिफल पाएका छन् ।

फेरि प्रसंग नेपालकै । केही समयअघि मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक थिए र सेयर बजार पनि खस्कदै गएको थियो। सेयर बजार तल झरेर  नेप्से १ हजार ८५२ को हाराहारीमा आयो।

अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशातर्फ बढ्दै गएकोले सेयर बजारमा पनि स्वतः सुधार हुन्छ नै । अर्थतन्त्रका सबै सूचकहरु राम्रो भएकाले  सेयरबजार मात्रै तल झरिरहन्छ भन्ने हुँदैन । -एजेन्सीको सहयोगमा