काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई असाधारण नाफाको अपेक्षाभन्दा दीर्घकालीन रुपमा सबल बन्ने सोच राखेर अगाडि बढ्न सुझाव दिएका छन्।
आज राजधानी आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो सुझाव दिएका हुन्। उनले व्यवसाय विस्तार गर्दा जोखिम मूल्यांकन गर्न पनि सुझाव दिए। ‘नियामकीय निर्देशनहरुमा छिद्रा खोज्ने, गलत व्याख्या गर्नेजस्ता कार्यले स्वयं संस्था तथा समग्र वित्तीय प्रणाली जोखिममा पार्न सक्छ’, उनले भने, ‘त्यसतर्फ सबैले ध्यान दिन जरुरी छ।’
गभर्नर अधिकारीले कर्जा र निक्षेपको ब्याजदरलाई अनुमानयोग्य बनाउन सकिएमा वित्तीय स्थायितत्व कायम भई अर्थतन्त्रको लाभ प्राप्त गर्न सकिने पनि बताए। ‘यसतर्फ पनि बैंक तथा वित्तीय संस्थाहरुले सोच्न आवश्यक छ’, उनले भने, ‘राष्ट्र बैंक चाहन्छ कि नियामक सहकजकर्ताको भूमिकामै सीमित रहोस्।’
पछिल्लो समय नेपालमा पनि बैंकिङ सुविधा सस्तो र शुलभताका साथ सर्वसाधारण सहज रुपमा उपभोग गर्न पाइरहेको गभर्नर अधिकारीको भनाइ थियो। ‘उत्पादन वृद्धि, रोजागार वृद्धि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यी कुरा पूरा भएमा अर्थतन्त्र चलायमान बनाउन सकिन्छ।’
कोभिड महामारीसँगै चालु आर्थिक वर्षको सुरुआतमै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा परिचालन केही बढीले तरलतामा दबाब परेको गभर्नर अधिकारीले बताए। ‘वर्षको सुरु कर्जामा ३२ प्रतिशतको ग्रोथ देखिएको छ’, उनले भने, ‘यही बेला रेमिट्यान्स कम भित्रिएको छ, सरकारी खर्च पनि सोचेअनुरुप भएन। यसले तरलतामा दबाब परी बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन्।’
गभर्नर अधिकारीले संयमित भएर अर्थतन्त्रलाई चाहिने कर्जा परिचालन गर्न र त्यहीअनुसार ब्याजदर समायोजन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिए। ‘यस्तो गरेर समग्र बैंक प्रणालीलाई स्टेबल बनाउन सहयोग गर्नेमा हामी विश्वस्त छौँ’, उनले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19