काठमाण्डौ । दुई विकास बैंक र एक फाइनान्स कम्पनीले आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरणको घोषणा गरेका छन् । 

सप्तकोसी डेभलपमेन्ट बैंकले ११ प्रतिशत, तिनाउ विकास बैंकले २५ प्रतिशत र यूनाइटेड फाइनान्सले २० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेका हुन् । 

बुधबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकको भदौ १३ गते सम्पन्न बोर्ड बैठकले आफ्ना लगानीकर्तालाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

बोर्डको यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले घोषित बोनस सेयर पाउनेछन् । 

आर्थिक वर्ष २०७१/७२ मा यो बैंकले १ बराबर १.१५ को अनुपातमा हकप्रद वितरण गरेको थियो । 
सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ९३ लाख ७८ हजार खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । ११ प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ११ करोड रुपैयाँ पुग्नेछ । 

यसैगरी, तिनाउ विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

भदौ १४ गते बसेको बैैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

बोर्डको यो निर्णय अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभामा पेश हुनेछ । ती दुवै निकायबाट स्वीकृत भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । 

आर्थिक वर्ष २०७१/७२ को नाफाबाट समेत तिनाउले आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

तिनाउ विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा  ७ करोड ९७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी २७ करोड ३० लाख रहेको छ । २५ प्रतिशत बोनस सेयर निश्कासन र व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ३४ करोड १२ लाख रुपैयाँ पुग्नेछ । 

यसैगरी, यूनाइटेड फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५  प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

भदौ १४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय पनि कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्रबैंकमा पठाइएको छ । यी दुवै निकायबाट स्वीकृत भएपछि घोषित बोनस सेयर र नगद लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । 

आर्थिक वर्ष २०७०/७१ मा यो कम्पनीले १५ प्रतिशत बोनस वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७२/७३ को अवधिमा यो कम्पनीले १३ करोड ८७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो संस्थाको चुक्तापूँजी ४६ करोड ३९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५५ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।