काठमाण्डौ । महाराजगञ्जमा मुख्य कार्यालय रहेको लक्ष्मी लघुवित्त बित्तीय संस्थाले आगामी मंसिर ३ गते आफ्नो छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कमलपोखरीस्थित अग्रवाल भवनमा यो कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशतले हुन आउने बोनस सेयर र १६.३२ प्रतिशत बराबरको नगद लाभांश वितरणको प्रस्तावलाई पास गर्नेछ । यो प्रस्ताव पास भएपछि कम्पनीले ३ करोड ५८ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्नेछ भने २ करोड २० लाख बराबरको बोनस सेयर वितरण गर्नेछ । कम्पनीको चुक्तापुँजी २२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड २० लाखको उचाईमा पुुग्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कम्पनीले पारित गर्ने नगद लाभांश र बोनस सेयर पाउन तथा वार्षिक साधारणसभामा सहभागी हुन कात्तिक २२ गतेसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७३/७४ को अन्तसम्म १० करोड ७१ लाख खूद नाफा आर्जन गरेको थियो ।  

उता, सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्थाले आगामी कात्तिक २४ गते आफ्नो तेश्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । यो लघुवित्त कम्पनीले इटहरीस्थित होटल पाथीभराको सभाहलमा साधारणसभा बोलाएको हो । 

साधारणसभाले संचालक समितिले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १५ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लभांश वितरणका लागि गरेको प्रस्ताव पारित गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि कायम हुने पूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारीका लागि समेत साधारणसभाले स्वीकृति प्रदान गर्ने बताइएको छ । हाल यो कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । बोनस सेयरपछि चुक्तापूँजी ११ करोड ५० लाख पुुग्नेछ । त्यसपछि १ बराबर १ को अनुपातमा हकप्रद जारीपछि स्वदेशी लघुवित्तको चुक्तापूँजी २३ करोडको उचाईमा पुुग्नेछ । 

स्वदेशी लघुवित्तले गत आर्थिक वर्षको अन्तसम्म २ करोड ३९ लाख नाफा कमाएको थियो ।