काठमाण्डौ । बलिया विकास बैंकहरुलाई आफूमा गाभेपछि कुनै बेला कमजोर बैंकको सूचिमा पर्ने जनता बैंक नेपाल लिमीटेड हरेक त्रैमासमा आफूलाई बलियो बनाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ करिब ५१ प्रतिशतको छलाङ मारेको छ । बैंकले अन्य मुख्य सूचकमा समेत उस्तै फड्को हानेको छ ।

समीक्षा अवधिमा जनता बैंक नेपाल लिमीटेडले खूद ब्याज आम्दानीतर्फ १११.२६ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ७४ करोड ५२ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ५७ करोडको उचाईमा पुगेको हो ।

बैंकले यो अवधिमा ५४ अर्ब ५७ करोड निक्षेप संकलन गरी ५१ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३५ अर्ब ४६ करोड निक्षेप संकलन गरी ३३ अर्ब २४ करोड कर्जा परिचालन गरेको थियो ।

दुई बलिया विकास बैंक गाभिएर मजबुत बनेको जनता बैंकको रिजर्बमा समेत कमालको प्रगति भएको छ । अघिल्लो वर्ष ८४ करोड रहेको रिजर्ब बढेर यो वर्ष १ अर्ब ३७ करोडको उचाईमा पुगेको छ । यो भनेको ६३ प्रतिशतको प्रगति हो ।

अघिल्लो वर्ष ४५ करोड ८५ लाखमा सीमित संचालन नाफा बढेर ६७ करोड ९७ लाखको उचाईमा पुगेको छ भने समीक्षा अवधिमा बैंकले २५ करोड ११ लाख रुपैयाँ संभावित जोखिम व्यवस्थापन कोषबाट फिर्ता ल्याएको छ ।

अघिल्लो वर्ष १.९८ प्रतिशतको अनुपातमा रहेको बैंकको खराब कर्जा केही घटेर १.९५ प्रतिशतमा आएको छ । अघिल्लो त्रैमासमा २.६५ प्रतिशत रहेको यस्तो अनुपात तीन महिनामै १.९५ प्रतिशतमा झार्ने कमालको प्रगति बैंकले प्रदर्शन  गरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०९ गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको इपीएस १०.९६ रुपैयाँ रहेको थियो । 

चैत मसान्तसम्म बैंकको सीडी रेसियो ७९.०८ प्रतिशत रहेको देखिएको छ भने इक्वीटीमा प्रतिफल ८.२४ प्रतिशत रहेको छ ।