-अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले म्रौद्रिक नीतिको समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

चालू  आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीति गत साउन ७ गते सार्वजनिक गरेको थियो । त्यसो त  केन्द्रीय बैंकले समीक्षामार्फत् मुद्रास्फ्रिति, आयातनिर्यातको अवस्था, ब्यालेन्स अफ पेमेन्ट, बैंक दर र नीतिगत दर जस्ता विषयमा बढी केन्द्रिकृत गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंककै अधिकारीहरुका अनुसार राष्ट्र बैंकको प्रथामिकतामा पूँजीबजारको विषय पर्दै नपर्ने होइन तर निकै कममात्र पर्छ । समग्र देशको अर्थतन्त्रलाई केलाउने जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकले पूँजीबजारको मुद्दा कमै सुन्ने गर्छभन्दा फरक पर्दैन । किनकि पूँजीबजार हर्ने छूट्टै निकाय भएको राष्ट्र बैंकको तर्क  यसअघि देखि नै रहेको छ ।

प्राय : तथ्यांकमा अध्ययन अनुसन्धानमा केन्द्रित हुने राष्ट्र बैंकलाई पूँजीबजारको विषयमा धेरै जानकारी त हुन्छ नै  । नेपालको पूँजीबजारको पछिल्लो अवस्थाबारे अद्यावधिक तथ्यांक अनुसार केन्द्रीय बैंकले साउन ७ गते  सार्वजनिक गरेको म्रौद्रिक नीतिको दिन नेप्से परिसूचक २ हजार २२३ अंकमा थियो । त्यसपछि लगातार घटेको बजार मंसिर १९ गते बजार बन्द हुँदा नेप्से परिसूचक १ हजार ८३८ मा सीमित भएको छ । यस हिसावले सेयर बजार ४००अंकले घटेको छ ।

साउन ७ गते ३२ खर्ब ७२ अर्ब रहेको बजार पूँजीकरण आज २८ खर्ब ३३ अर्ब रहेको छ । यस हिसावले हेर्दा आजको मितिसम्म म्रौद्रिक नीति पछि लगानीकर्ताले पूँजीबजारबाट मात्रै साढे ४ खर्ब रुपियाँ गुमाएका छन् । देशको अर्थतन्त्रको ऐना मानिएको पूँजीबजार यसरी दैनिक रुपमा खस्कँदा लगानीकर्ताहरुलाई मात्रै नभएर स्वयं सरकारलाई पनि अर्बौं रुपैयाँ बराबरको राजस्व नोक्सानी भएको छ । कुनै समय एकै वर्षमा सरकारले १४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको पूँजीबजार माथिजाने सुरसार देखिएको छैन ।
सस्तो मोलमा सेयर बिक्री गर्नुपर्दा एकातिर लगानीकर्ताले ठूलो घाटा व्यहोर्नु परेको छ भने घाटामै सेयर बिक्री हुँदा ठूलो परिमाणको रकम राजस्ववापत गुमेको छ । किनभने लगानीकर्ताले पूँजीगत लाभ करमा मात्रै सरकारलाई राजस्व बुझाउने गर्दछन् ।यदि यसो भइरहने हो भने आगामी दिनमा सरकारले पाउने राजस्व झन गुम्दै जाने बजार विज्ञहरु बताउँछन् ।

बजार जानकार उपेन्द्र पाठक प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर यति ठूलो लगानी भएको पूँजीबजारप्रति जवाफदेहि भएको जस्तो नदेखिएको  बताउँछन् । 

उनका अनुसार भारतको सेयर बजार यतिखेर बढेको छ तर नेपालको सेयरबजार भने निरन्तर घटिरहनुमा नियामकीय निकायको चरम उदासिनता नै प्रमुख कारण हो ।

भारतका तीन वटा राज्यमा भारतीय जनता पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले लगानीकर्तालाई ढाडस दिएका छन् ।  यतिखेर भारतको सेयरबजार दैनिक उचाइ छ तर नेपालको सेयरबजार भने ठिक उल्टो छ ।

बजार जानकारहरु उच्च विन्दुबाट बजार घट्न थालेको करिब २७ महिना बित्न लागिसकेकोले पनि अब पूँजीबजार सुधारका लागि प्याकेज ल्याउनुको विकल्प नरहेको बताउँछन् ।

 यसरी पूँजीबजारमा आफ्नो सम्पति दैनिक खरानी भएको टुलुटुल हेरेर बसेका लगानीकर्ताहरुले आउँदै गरेको म्रौद्रिक नीतिको समीक्षा निकै चासोका साथ हेरिरहेका छन् । देशको अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएको अवस्थामा पूँजीबजारलाई चलायमान बनाएर रक्तसञ्चार गर्नुपर्ने बजार सम्बद्ध जानकारहरु  बताउँछन् । पूँजीबजार चलायमान नभएसम्म अर्थतन्त्र चलयमान नहुने पनि उनीहरुको तर्क छ ।