काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्तापूँजी बढाउने दिशामा अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा चमात्कारिक प्रगति हासिल गरेको देखिएको छ ।  

अघिल्लो आर्थिक वर्षको  यही अवधिको तुलनामा बैंकको खूद नाफा ३५७ प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । बैंकले ७ करोड ७६ लाखमा सीमित नाफालाई बढाएर ३५ करोड ४५ लाखको उचाईमा पुर्याएको छ । प्रोभिजनमा राखेको ठूलो रकम फिर्ता तथा खराब असूली सन्तोषजनक रहेका कारण बैंकको नाफा बढेको हो । व्यवसाय नै वृद्धि गरी यति ठूलो नाफा भने बढाएको होइन।

समीक्षा अवधिमा बैंकले ५८ अर्ब १९ करोड निक्षेप संकलन गरी ५१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५५ अर्ब ४६ करोड निक्षेप संकलन गरी ४८ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको थियो ।

व्यवसाय खासै वृद्धि गर्न नसकेका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ भने पहिरो गएको छ । अघिल्लो वर्ष  यही अवधिमा १ अर्ब ३ करोड रहेको खूद ब्याज आम्दानी घटेर ५८ करोड ७४ लाखमा सीमित बन्न पुगेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर ४.०४ प्रतिशतमा झरेको छ । यस्तै, २ अर्ब ३० करोडमा सीमित रिजर्ब कोष थप मजबुत भई २ अर्ब ९१ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३.३२ रुपैयाँमा सीमित थियो ।

यस्तै, प्रतिसेयर नेटवर्थ १६२.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.३२ गुणा कायम भएको छ।