काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही  अवधिमा २ अर्ब ७ करोडमा सीमित नाफामा यो बैंकले ४९ प्रतिशतको हाराहारीमा प्रगति गरेको हो । 

योसँगै तेश्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक बन्ने सफलता प्राप्त गरेको छ । 

राष्ट्रिय वाणिज्य बैंकले अधिकांश सूचकमा अपत्यारिलो छलाङ मारेको छ । संचालन नाफा, खूद ब्याज आम्दानी, रिजर्ब समेत ह्वात्तै बढेको छ । 
अघिल्लो वर्ष १ अर्ब  ८१ करोडमा सीमित संचालन मुनाफामा ७३ प्रतिशतले वृद्धि भई ३ अर्ब १४ करोड पुगेको  छ भने ४ अर्ब ६७ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ६ अर्ब १९ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले जगेडाकोषमा करिब १३८ प्रतिशतले फड्को मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कोषमा २ अर्ब ९ करोड रहेकोमा बढेर ४ अर्ब ९७ करोड पुगेको हो ।

यो अवधिमा बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ अर्ब १२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा परिचालन गरेको थियो ।

बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो  वर्ष २.७ प्रतिशतको अनुपातमा सीमित यस्तो कर्जा बढेर २.९ प्रतिशत पुगेको हो ।

चुक्तापूँजी अघिल्लो आबको यही अवधिकै अवस्थामा रही नाफा वृद्धि भएका कारण वाणिज्य बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ३२.२१ रुपैयाँ रहेको इपीएस बढेर यो वषृ ४७.८९ रुपैयाँको उचाईमा पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५७.९५ रुपैयाँ रहेको  छ ।