काठमाण्डौ । पाकिस्तानका पेट्रोलियममन्त्री मुसादिक मलिकले गत सोमबार आफ्नो सरकारले रुसबाट कच्चा तेल खरिद गर्न पहिलोपटक चिनियाँ मुद्रा प्रयोग गरेको बताएका थिए। पाकिस्तान सरकारको यो कदमलाई प्रमुख नीतिगत निर्णयका रुपमा लिइएको छ। किनकि यसअघि पाकिस्तानले तेल किन्न अमेरिकी डलर प्रयोग गर्ने गरेको थियो।

रुसबाट कम मूल्यमा कच्चा तेल ल्याउनु पाकिस्तानका लागि राहत मानिएको छ। यसको कारण पाकिस्तानी अर्थतन्त्रको वर्तमान अवस्था हो। पाकिस्तान अहिले भुक्तानी सन्तुलनको समस्यासँग जुधिरहेको छ। बाह्य ऋणका कारण पाकिस्तान डिफल्ट हुने खतरा पनि छ।

पाकिस्तानको केन्द्रीय बैंकसँग एक महिनाको आयात तिर्नसमेत पर्याप्त विदेशी मुद्रा सञ्चिति छैन। 

यस वर्षको सुरुमा पाकिस्तान र रुसबीचको छुटको रुसी तेल सम्झौतामा हस्ताक्षर भएको थियो। यसको पहिलो खेप गत आइतबार कराँची पुगेको छ।

समाचार एजेन्सी रोयटर्ससँग मुसादिक मलिकले भुक्तानी चिनियाँ युआनमा गरिएको बताए। उनले १ लाख टनको सम्झौता भएको र त्यसमध्ये ४५ हजार टन कराँची बन्दरगाह पुगेको जानकारी दिए। ‘बाँकी आउँदैछ’, उनले भने। 

पाकिस्तानले यो सम्झौता अप्रिल महिनामा गरेको थियो। पाकिस्तानले त्यहाँको रिफाइनरीमा तेल प्रशोधन गर्ने जनाएको छ। यसको फाइदा स्थानीय बजारले पाउने पनि मलिकले बताए।

ऊर्जा आयातका लागि दिइने भुक्तानीको हिस्सा पाकिस्तानले अन्य देशलाई गरेको भुक्तानीमा महत्वपूर्ण हुन्छ। केप्लरको तथ्यांकअनुसार पाकिस्तानले सन् २०२२ मा दैनिक १ लाख ५४ हजार ब्यारेल तेल आयात गरेको छ। मलिकले भने, ‘हाम्रो लक्ष्य रुसबाट एक तिहाइ तेल आयात गर्ने हो।’

पाकिस्तानमा सबैभन्दा बढी कच्चा तेल साउदी अरब र त्यसपछि संयुक्त अरब इमिरेट्सबाट आयात गरिएको थियो।

चिनियाँ मुद्रामा व्यापार गर्ने देश पाकिस्तानमात्र होइन। बंगलादेशले पनि हालै योजनाका लागि डलरको सट्टा चिनियाँ युआनमा भुक्तानी गर्ने निर्णय गरेको छ। उसले निर्माणाधीन रुपपुर पावर प्लान्टका लागि रुसलाई चिनियाँ मुद्रामा ११ करोड डलर दिनेछ।

ब्रिक्स राष्ट्रहरुको समूहले डलरको प्रभुत्व अन्त्य गरी अन्य मुद्रामा कारोबार सुरु गर्ने प्रयास गरिरहेको छ। भारतले रुसी कच्चा तेलको खरिदलाई पनि रुपैयाँ प्रयोग गरेर प्रवर्द्धन गर्न चाहेको थियो। भारतले रुससँग रुपैयाँमा सम्झौता गर्न निकै प्रयास गर्यो तर सफल हुन सकेन।

हाल रुस भारतको हतियार र अन्य सैन्य उपकरणको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। तर, अहिले यो आपूर्ति रोकिएको छ। किनकि रुसलाई तिर्नुपर्ने भारतसँग रहेको मेकानिजममा अमेरिकाले प्रतिबन्ध लगाएको छ।

भारतले रुसलाई हतियार र अन्य सैन्य उपकरणको आपूर्तिका लागि २ अर्ब डलर तिर्नुपर्छ। तर, प्रतिबन्धका कारण विगत एक वर्षदेखि यो भुक्तानी अलपत्र परेको छ। भारतले यसो गर्दा अमेरिकाको प्रतिबन्धको सिकार बन्न सक्ने डर छ। अर्कोतर्फ रुस रुपैयाँमा भुक्तानी लिन तयार छैन।

भारतीय बैंकहरुले रुसी बैंकहरुमा भोस्ट्रो खाता खोलेका छन्। ता कि रुपैयाँ तिरेर तेल किन्न सकियोस्। समस्या यो छ कि भारतबाट तेल खरिद बढेपछि रुसले धेरै पैसा पायो। रुपैयाँमा सुल्झाउने समस्या देखेर अब त्यसमा भुक्तानी लिन चाहँदैनन्।

युआनसँग कुनै समस्या छैन किनकि रुसले चीनसँग निरन्तर व्यापार गर्दै आएको छ।

चिनियाँ मामिलाविज्ञ अतुल भारद्वाज भन्छन्, ‘रुस र चीनले सुरु गरेको डिडलराइजेसन अभियानलाई हेर्दा यसलाई सफल मानिनेछ। रुसको चीनसँगको व्यापार निकै बढेको छ, त्यसैले यो मुद्रा प्रयोग गरिनेछ। युआनको व्यापारबाट चीनलाई मात्र फाइदा हुने छैन, यी देशहरुको डलराइजेसन अभियानले ठूलो फाइदा गर्नेछ।’

भारद्वाजका अनुसार रुस पाकिस्तानसँगको सम्बन्धलाई बलियो बनाउन चाहन्छ। ‘जसरी भारतसँगको सम्बन्ध सुधार्न चाहन्छ, त्यसरी नै पश्चिमा मुलुकको नाकाबन्दीका बीचमा यी देशसँगको सम्बन्ध सुधार्दा फाइदा हुन्छ’, उनले भने।

चीनसँग पाकिस्तानको व्यापार बढेको छ। अमेरिकाबाट डलर किन्दा पाकिस्तानलाई महँगो साबित हुनेछ। चीनसँगको व्यापारमा युआन प्रयोग गर्न सकियो भने पाकिस्तानको कमजोर अर्थतन्त्रलाई पनि फाइदा हुन्छ। योसँगै चिनियाँ मुद्रामा हुने कारोबारबाट पनि चीनलाई फाइदा हुन्छ। –एजेन्सी