काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जाको ब्याजदर समेत घटाएर प्रकाशित गरेका छन् । 

बैशाख १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर आज प्रकाशित गरेका हुन् । 

निक्षेपको ब्याजदर नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले हिजो गरेको निर्णयका आधारमा घटाइएको छ । 

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागतको ७.९९ प्रतिशत कायम गरेका छन् । कल डिपोजिटको ब्याजदर २.७० प्रतिशत कायम गरिएको छ भने बचत खाताको ब्याजदर ५.९५ देखि ७.४० प्रतिशतसम्म कायम गरिएको छ । 

वाणिज्य बैंकहरुले विभिन्न खालको कर्जाको ब्याजदर पनि घटाएर प्रकाशित गरेका छन् । फागुनको आधारदर केही कम भएका कारण कर्जाको ब्याजदरमा समेत प्रभाव परेको देखिएको छ । चैतका लागि प्रकाशित विभिन्न खालका कर्जाहरुको ब्याजदरको तुलनामा बैशाख १ गतेदेखि लागू हुने कर्जाको ब्याजदर १ प्रतिशत विन्दूले घटेको छ । 

उदाहरणका लागि सानिमा बैंकलाई लिन सकिन्छ । यो बैंकले निश्चित अवधिको कर्जाको फिक्स्ड रेट १ प्रतिशत विन्दूले घटाएको छ । १३ महिनासम्मको कर्जाको ब्याजदर चैतमा १४ प्रतिशत रहेकोमा बैशाखका लागि १३ प्रतिशत कायम गरिएको छ । १३ देखि २४ महिना, २४ देखि ३६ महिना तथा ३६ महिनाभन्दा माथि अवधिका कर्जाको ब्याजदर पनि १ प्रतिशत विन्दूले नै घटाइएको छ । 

माघमा १०.८५ प्रतिशत रहेको यो बैंकको आधारदर फागुनमा भने केही घटी १०.७६ प्रतिशतमा सीमित भएको देखिन्छ । 

एभरेष्ट बैंकको आधार दर भने फागुनमा बढेको छ । माघमा ९.८६ प्रतिशत रहेको आधार दर बढेर फागुनमा १०.०८ प्रतिशत पुगेको हो । एभरेष्ट बैंकले भने लोनको ब्याजदर चैतको तुलनामा घटाएको छैन । 

हिमालयन बैंकले निक्षेपको ब्याजदर एनबीएको निर्णयअनुसार घटाए पनि कर्जाको ब्याजदर भने यथावत राखिएको जनाएको छ । 

माछापुच्छ्रे बैंक, एनएमबी बैंक, नवील, प्रभू, प्राइम कमर्सियल लगायतका अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाए पनि लोनको भने यथावत राखेका छन् । 

सनराइज बैंकको आधार दर माघको तुलनामा फागुनमा बढेको छ । माघमा ११.४९ प्रतिशत रहेको आधार दर बढेर फागुनमा ११.५२ प्रतिशत पुगेको हो । यसकारण पनि यो बैंकले कर्जाको ब्याजदर चलाएको छैन । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर फागुनमा ९.४६ प्रतिशत कायम भएको छ । यही आधारमा यो बैंकले नयाँ ब्याजदर तोकेको छ। 

विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर भने चैतलाई नै निरन्तरता दिएर प्रकाशित गरेका छन् ।